सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– देशका केही भू–भागमा शनिबार पनि वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान कोशी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली  रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। 

कोशी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ।

महाशाखाका अनुसार राति देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही  स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। 

नेपालमा हाल मनसुनी वायुको प्रभावका साथै भारतको  मध्यप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ।

महाशाखाले भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित:
2023/08/05, 7:47