पहिरो खसेपछि अवरुद्ध भीमदत्त राजमार्ग सुचारु नहुँदा यात्रुहरूको बिचल्ली

सुदूर प्रेस संवाददाता

धनगढी–पहिरो खसेपछि गए राती देखी अवरुद्ध सुदूरपश्चिम प्रदेशको भीमदत्त राजमार्ग सुचारु नहुँदा  यात्रुहरूको बिचल्ली भएको छ ।  ७ पहाडी जिल्ला जोडने एउटा मात्रै राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन र यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् । भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको वुढीतोलामा पहिरो खसेपछि गए राती ९ बजेपछि सडक अवरुद्ध भएको हो । पहिरोका कारण ठाउँ ठाउँमा सडक भासिएको छ । सडकका अलपत्र परेका केही बिरामी र शवहरु नेपाली सेनाले बोकेर वारपार गराएको छ । सो क्षेत्रमा वर्षा जारी रहेकाले यात्रुहरू झनै समस्यामा परेका छन् । दिउसो वाट सडक खुलाउने प्रयास जारी रहे पनि कतिखेर सडक खुल्छ भन्ने यकिन छैन ।  यता गोदावरी खोलामा आएको बाढीले गोदावरी मन्दिर क्षेत्र लाइ बगर बनाएको छ । मन्दिरका अधिकांश संरचना बगेका छन् । गोदावरीमा रहेको पुल क्षेत्र पनि जोखिममा परेको छ । कैलालीकै कैलारी गाउँपालिकामा डेढ सय भन्दा वढी घरमा पानी पसेपछि स्थानीयको बिचल्ली भएको छ । कतिपयलाई नेपाली सेना र प्रहरीले उद्धार गरेर विद्यालयमा सारेको छ । वर्षा जारी रहेको र कर्णाली,महाकाली,मोहना जस्ता ठुला नदीमा जल स्तर बढेकाले सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 
 

प्रकाशित:
2023/08/08, 6:41