सुदूरपश्चिममा भारी वर्षा हुने

सुदूर प्रेस संवाददाता

धनगढी– देशभर आंशिकदेखि सामान्य बदली भई हाल लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। महाशाखाकाअनुसार आज देशका सातै प्रदेशमा वर्षा हुनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कोशी र मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

राति लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ।

भोलि (शुक्रबार) पनि सातै प्रदेशमा वर्षाको सम्भावना छ । महाशाखाकाअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षासमेत हुनेछ ।

राति कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशको थोरै स्थान वर्षाको सम्भावना छ। कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुनेछ।

शनिबार पनि देशैभर झरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । 

प्रकाशित:
2023/08/10, 6:54