बाढीले भजनीका बस्ती अझै जलमग्न, घर हिलाम्मे,तिन दिन देखी त्रिपालमुनि वास

सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीको भजनीका १ हजार बढी बाढीपीडित बिहीबार दोस्रो दिन पनि हुलाकी सडक छेउछाउ त्रिपालमै बसिरहेका छन् । भजनीका बस्ती जलमग्न बनेका छन् भने उनीहरूका घरहरू हिलाम्मे बनेका छन् । 

सडक किनारको सुक्खास्थलमा आश्रय लिइरहेका विस्थापित परिवारले खानेकुरा, शौचालय, त्रिपाल, लत्ताकपडा, खानेपानीलगायतको समस्या झेलिरहेका छन् । तीन दिनदेखि निदाउन नपाएको लामखुट्टेको टोकाइ सहनुपरेको बताएका छन् ।

मंगलबार राति विस्थापित भएका उनीहरूलाई बुधबार सुरक्षा निकायले उद्धारमा सहयोग गरे पनि बिहीबार कसैले वास्ता नगरेको गुनासो गरेका छन् । ‘घरमा भएका लत्ताकपडा र खाद्यान्न आफैंले ल्याउने प्रयास गर्‍यौं,’ भजनी–३ का सञ्जीव चौधरीले भने, ‘पहिलो दिन सबै जना आएर हेरेर गए । आज त कोही पनि फर्केनन् । हामी आफैं–आफैं मिलेर घरबाट सामान झिकेर ओसारिरहेका छौं ।’ सडक छेउमा बस्न बाध्य परिवारले घर गएर सामान ओसार्न डुंगा प्रयोग गर्नु परिरहेको छ ।

भजनी नगरपालिका प्रमुख केवल चौधरीले बढी प्रभावित वडा ३ का कुसुमघाट, ढुसी, बर्दवा, कनैयापुर, वडा ८ का बहादुरपुर, जनकपुर, मिजाहा, सोनाफाँटाका डुबान प्रभावित अधिकांश परिवार हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बसेको बताए । उनका अनुसार वडा ३ मा काँढा र वडा ८ मा पथरैया नदीको बाढीले डुबान गरेको हो । वडा ८ मा डुबान भने केही घट्ने क्रममा छ । भजनीमा कन्द्रा, काँढा, पथरैया, मोहना नदीको बाढी बस्ती पस्ने गरेको छ । नगर प्रमुख चौधरीले विस्थापित परिवारलाई विभिन्न संस्थाको सहयोगमा खानेपानीका बोतल, चाउचाउ र भुजा उपलब्ध गराएको बताए । त्यसबाहेक उनीहरूलाई कुनै पनि निकायले राहत तथा सहयोग उपलब्ध गराएका छैनन् । ‘९ सय परिवारलाई नगरपालिकाबाट तत्काल कुनै राहत उपलब्ध गराउन सकेका छैनौं,’ उनले भने, ‘हामीलाई सहयोगको आवश्यकता छ ।’

प्रकाशित:
2023/08/11, 8:58