सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णालीका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालनजिक) अवस्थित छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ ।

यस्तै शनिबार रातिदेखि देशभर पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थान, साथै बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू-क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

प्रकाशित:
2023/08/12, 8:06