देशभर झरी : सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी–देशभर सामान्यदेखि पूर्ण बदली भई अहिले बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि बादलले ढाकेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपालको पहाडी भू-भागको नजिक) अवस्थित रहेको जनाएको छ । यसका साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ।

आज दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। महाशाखाकाअनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा दिउँसो मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ ।

राति कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। आइतबारको तुलनामा आज कम वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि (मंगलबार) कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

बुधबार सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ। साथै कोशी, मधेस र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । 

प्रकाशित:
2023/08/14, 9:34