भीमदत्त राजमार्ग एक सातादेखि प्रभावित,यात्रुलाइ सकस

सुदूर प्रेस संवाददाता

धनगढी– एक सातादेखि अवरुद्ध धनगढी–डडेलधुरा जोड्ने भीमदत्त राजमार्ग अझै नियमित सञ्चालनमा आउन सकेको छैन । शनिबारदेखि एकतर्फी यातायात चले पनि बेलाबेला अवरुद्ध भइरहेको छ । निरन्तर वर्षा भइरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सुचारु गर्न समस्या भएको हो ।


‘एकतर्फी खुलेको बाटोमा बेलाबेला पहिरो खसेर अवरुद्ध भइरहेको छ भने पहिरो पन्छाउँदै रित्ता गाडी ओराल्ने प्रयास भइरहेको छ,’ सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजनल इन्जिनियर हरि सुवेदीले भने, ‘आइतबार पनि पटकपटक अवरुद्ध हुने र खोल्ने क्रम चलिरह्यो । वर्षा रोकिएर घाम लागेपछि मात्रै पूर्ण रूपमा यातायात सुचारु हुन सक्ने देखिन्छ ।’

कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलाको भावर क्षेत्रमा पहिरो जाँदा झन्डै ४ सय मिटर सडक बिग्रेको छ । सय मिटर भासिएको र ठूलो पहिरो खसेकाले तत्काल यातायात सुचारु गर्न सकिने अवस्था नभएको सुवेदीले बताए । शनिबार छैटौं दिन केही समय एकतर्फी गाडी चलेपछि पहाडी जिल्लाबाट आएका सवारीसाधन तराई झरेका थिए । सुवेदीका अनुसार तराईबाट भार बोकेका गाडी भासिने जोखिम भएका कारण माथि उक्लिन सकेनन् । आइतबार एकाध मात्र साधन आउजाउ गरेका थिए ।

‘ठूलो भीर भएकाले सानोतिनो प्रयासले पहिरो रोकिने सम्भावना छैन,’ डिई सुवेदीले भने, ‘भासिएको सडक बनाउनै ठूलो खर्च र समय लाग्छ ।’ पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएको सुदूरपश्चिममा भीमदत्त राजमार्ग पहाडी जिल्लाको लाइफलाइन हो । यही सडक पनि लामो समयदेखि अवरुद्ध हुँदा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका यात्रुहरू तराईमै रोकिएका छन् । पहाडी जिल्ला डडेलधुरा, बैतडी, दार्चुला, डोटी, अछाम, बाजुरा र बझाङबाट तराईतिर झर्ने यात्रु प्रभावित छन् ।

साता दिनदेखि सडक अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुका साथै मालसामान ढुवानीमा समस्या भएको छ । पहाडी क्षेत्रतर्फ खाद्यान्न तथा तराईतर्फ तरकारी ढुवानीमा समस्या भएको छ । जसका कारण तराईमा तरकारीको मूल्य अकासिएको छ । पहिरो गएको क्षेत्रमा मजदुरलाई भारी बोकाएर तरकारी ढुवानी भइरहेको छ ।


सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने वैकल्पिक मार्ग नहुँदा यातायात ठप्प भएको हो । कैलाली र कञ्चनपुरबाट पहाडी जिल्ला जोड्ने आधा दर्जन सडक निर्माणाधीन अवस्थामा छन् । महाकाली करिडोर, दैजी–जोगबुडा–बुडर, बंक–नाइल–बुडर, सेती लोकमार्गलगायतका सडकले चुनावका बेला निकै चर्चा पाउँछन् । पहाडी जिल्ला जोड्ने सबैभन्दा छोटो मानिएको कञ्चनपुरको दैजी जोगबुढा बुडर सडकखण्ड निर्माण सुरु भएको दुई दशकसम्म काम सकिएको छैन । हिउँदमा बनाएको सानोतिनो सडक बर्खामा बगाएर लैजाने गरेको छ ।

प्रकाशित:
2023/08/14, 9:42