नयाँदिल्ली — भारी वर्षाका कारण आएको पहिरोमा परेर भारतको पहाडी क्षेत्र हिमाचल प्रदेशको विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हिमाचलका सिमला, सोलन, मन्डीलगायत क्षेत्रका छन् । केही दिनदेखिको मुसलधारे वर्षाका कारण उत्तरी राज्य उत्तराखण्ड र हिमाचल प्रदेशमा सवारीसाधन बगाएको छ । भवन र पुलहरू भत्किएका छन् । बाढी र पहिरो सामान्य कुरा हो र यसले भारतको जोखिमपूर्ण मनसुनको मौसममा व्यापक विनाश निम्त्याउँछ । विशेषज्ञका अनुसार जलवायु परिवर्तनले यसको आवृत्ति र गम्भीरता बढाइरहेको छ ।
सबैभन्दा बढी प्रभावित राज्य हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले पछिल्लो २४ घण्टामा कम्तीमा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘स्थानीय प्रशासनले अझै फसेका व्यक्तिहरूको उद्धारका लागि भग्नावशेष हटाउन लगनशीलताका साथ काम गरिरहेको छ’ मुख्यमन्त्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मुख्यमन्त्री सुखुले स्थानीय बासिन्दालाई घरभित्रै बस्न र नदी नजिक नजान आग्रह गरेका छन् । प्रभावित हिमाचल राज्यका विद्यालयहरू बन्द गरिएका छन् ।
छिमेकी राज्य उत्तराखण्डमा भारी वर्षाका कारण पहिरो जाँदा मानिसहरू पुरिएको आशंकामा उद्धार टोलीहरू भग्नावशेष हटाउन निरन्तर खटिरहेका छन् । उक्त राज्यमा शुक्रबारदेखि अहिलेसम्म कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् ।
त्यस्तै सिमलाको समरहिल क्षेत्रको शिव बावडी मन्दिर पनि सोमबार पहिरोमा परेको छ । साउनको अन्तिम सोमबार उक्त मन्दिरमा दर्शनार्थीको भीड थियो । जहाँ कम्तीमा १० जनाले ज्यान गुमाएका हुन् भने अझै कैयौं मानिस हराइरहेका बताइएको छ ।
घटनास्थलमा ठूलो संख्यामा उद्धार टोली खटाइएको छ । मन्दिर भत्किएको स्थानमा अवलोकनका लागि पुगेका मुख्यमन्त्री सुखुले घटनास्थलमा २० देखि २५ जना मानिस पुरिएको हुनसक्ने बताएका छन् । पर्यटकीय सहर सिम्लाको दृश्यावलोकन गर्न र चिसो मौसमको आनन्द लिन हरेक वर्ष हजारौं मानिस घुमघामका लागि जाने गर्छन् । केही दिनयता वर्षा र बाढीका कारण बगाउँदै गरेका गाडी र भवनहरूको भिडियो फुटेज सामाजिक सञ्जालमा समेत भाइरल बनेका छन् । मुख्यमन्त्री सुखुले बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित रूपमा घरभित्रै सतर्क भएर बस्न आह्वान गरेका छन् ।
हिमाचल प्रदेशमा लगातार वर्षा भइरहेकाले बाढीपहिरोको जोखिम कायमै रहेको छ । पहिरोमा परी घर, गाडी पुरिएका अवस्थामा छन् भने कतिपय स्थानमा बाटो अवरुद्ध हुँदा आवागमन ठप्प छ । बाढी र पहिरोका कारण एक महिनाभित्र हिमाचल प्रदेशमा दोस्रो पटक ठूलो मात्रामा जनधनको क्षति भएको हो । उत्तराखण्डको धार्मिकस्थल ऋषिकेशमा आएको पहिरोमा परी एक रिसोर्ट पुरिएको छ भने त्यहाँ ५ जना हराइरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मनसुनले दक्षिण एसियामा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा ल्याउँछ । यो वर्षा कृषि र लाखौंको जीविकोपार्जनका लागि महत्त्वपूर्ण छ । तर यसले हरेक वर्ष पहिरो र बाढीको रूपमा विनाश पनि ल्याउँछ ।