आज नाग पञ्चमी, घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै नाग पञ्चमी मनाइदै

सुदूर प्रेस संवाददाता

धनगढी– नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ ।

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

 

यस दिन खेतबारीमा खनजोत गरिन्न । नाग र सर्प जस्ता घिस्रिने जनावरलाई मार्न हुन्न भन्ने मान्यता रहेको छ । घरको मूल ढोकामा त्यस्ता चित्र टाँसेर पूजा गर्दा वर्षभरि नै घरमा नाग र सर्पले दु:ख नदिने जनविश्वास पनि छ ।

नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो ।

बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिनमा नागपूजाका लागि प्रसिद्ध मानिन्छ ।

प्रत्येक घरमा नाग रहने र नाग रिसाए घरको जग भत्किने विश्वास पनि गरिन्छ । नागपञ्चमी किन र कसरी मनाउन सुरु भयो भन्नेबारे विभिन्न किंवदन्ती प्रचलित छन् । नागपञ्चमीको अवसरमा काठमाडौंका नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीसँगै देशभरिका दह र कुण्डमा पूजा गरिन्छ ।

प्रकाशित:
2023/08/21, 7:34