थारु समुदायमा गुरही पर्वको उल्लास, बिभिन्न पालिमा सार्वजनिक बिदा

सुदूर प्रेस संवाददाता

धनगढी । पश्चिम नेपालको थारु बस्तीमा गुरही पर्वको उल्लास बढेको छ । नाग पञ्चमीकै दिन मनाइने यस पर्वको उल्लास बढेको हो । नाग पञ्चमी तथा गरही पर्व भोलि भदौ ४ गते परेको हो । पश्चिम नेपालको कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै पछिल्लो समय काठमाडौँमा समेत भव्यताका साथ पर्व मनाउन थालिएको हो ।

गुरही भनेको एक किसिमको गाइने किरा हो । सोही किराको प्रतीकको रूपमा यो पर्वमा कपडाको पुतला, खेलौना बनाइन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई  गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ ।

पर्वमा थारु समुदायका घरहरूमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियत अनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । केटीहरू कपडाका रङ्गीचङ्गी कपडाका गरही बनाउने गर्दछन् ।

केटाहरू सोंटा वा केराको डाँठ तयार पार्छन् । साँझपख बालिका तथा युवतीहरू परम्परागत पोसाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् । यसैबीच केटाहरू सोटा लिएर जम्मा हुन्छन् । 

जम्मा भएका बालिकाहरु गुरही फाल्छन् र केटाहरू सोंटा, कोर्राले पिट्छन् । केटीहरू गुरही फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्दछन् । पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी (भुटेका मकै) माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।

कतिपय गाउँमा पिटिएका यी गुरही सडकमै चौराहामै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लाने गरिन्छ ।

यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । यस पर्वलाई बाल पर्वको रूपमा समेत लिइन्छ । पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ ।

यसैबीच कैलाली कञ्चनपुरका थारु बाहुल क्षेत्रका स्थानीय तहले स्थानीय बिदा समेत दिएका छन् । भने थारु अधिकारवादी सङ्घ संस्थाले प्रदेश सरकारसँग माग माग समेत गरेको छ ।

थारु समुदाय आबद्ध ६ संस्थाले एक विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् । थारु कल्याण कारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक सङ्घ, राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाजले संयुक्त विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् ।

प्रकाशित:
2023/08/21, 7:29