आज यि प्रदेशमा धेरै वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी–हाल देशभर सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम धुम्मिएको छ भने आसपासका क्षेत्रमा सामान्य वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित छ । साथै नेपालमा हाल भारतको उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने छ ।

राति देशका अधिकांश स्थानमा वर्षा हुनेछ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

यस्तै कोशी, मधेस र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ।

आज देशका विभिन्न नदी तथा खोलामा बाढीको जोखिम रहने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाकाली नदीको जलसतह सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ । 

प्रकाशित:
2023/08/22, 7:31