बाल सुधारगृहमा झडप : एक जनाको मृत्यु, भागेका २२१ मध्ये २७ को अवस्था अज्ञात

सुदूर प्रेस संवाददाता

काठमाडौं– भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा एक कैदीबन्दीको मृत्युलाई लिएर आज झडप भएको छ । हिजो आइतबार रामेछापका १८ वर्षीय कमल बस्नेतको मृत्यु भएपछि आज उनका आफन्तले सुधार गृहको गेटमा प्रर्दशन तथा तोडफोड गरेका हुन् । 

झडपपछि दिउँसो २ बजे सुधारगृहको गेट फुटाएर २ सय २१ कैदीबन्दी भागेका थिए । साँझसम्म १ सय ९४ जनालाई राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिइसकिएको र २७ अझै फरार रहेको प्रहरीले जनाएको छ ।

आफन्तहरुले प्रदर्शन गरिरहेका बेला भित्र रहेका बन्दीहरुसमेत प्रदर्शनमा उत्रिएपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । त्यसक्रममा नेपाल प्रहरीका १० र सशस्त्र बलका ८ सुरक्षाकर्मी घाइते भएका छन् ।


सुधारगृहमा मृत्यु भएका बस्नेत ३ वर्षअघि पुर्पक्षका लागि थुनामा थिए । उनको मृत्युपछि हिजैदेखि सुधारगृह परिसर तनावग्रस्त थियो । घटनाको छानबिन गर्न हिजै सहायक प्रमुख जिल्ला अधिकारी डोरप्रसाद निरौलाको नेतृत्वमा समिति बनेपछि केही मत्थर भए पनि आज पुन: बन्दीहरुले प्रहरीमाथि आक्रमण गरेका थिए ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले २ राउन्ड गोली पनि चलाएको थियो । बन्दीको के कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएपछि सत्यतथ्य थहा हुने प्रहरीले जनाएको छ ।

सुधार गृह युसेफ नेपाल नामक स‌ंस्थाले चलाउँदै आएको छ । देशभर ८ सुधार गृह संचालनमा रहेकामा ४ वटा गैरसरकारी संस्थाहरुले संचालन गरेका छन् ।

प्रकाशित:
2023/08/22, 7:49