देशका अधिकांश स्थानमा झरी, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी–  हाल देशभर सामान्यदेखि पूर्ण बदली भई सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। धनगढी तथा आसपासका क्षेत्रमा रातिदेखि नै निरन्तर झरी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको जनाएको छ । साथै नेपालमा भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रकोसमेत प्रभाव रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ।

राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा हुनेछ।

महाशाखाले आज बिहान जारी गरेको मौसम बुलेटिन अनुसार आगामी शुक्रबारसम्म वर्षाको सम्भावना छ । 

भोलि बिहीबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

शुक्रबार पनि देशका अधिकांश स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भने मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ।

प्रकाशित:
2023/08/23, 8:11