काठमाण्डौ – मलेसियामा चलिरहेको चार देशीय महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे वायोमास ओभलमा शुुरु हुनेछ ।
नेपालले शृङ्खलाको पहिलो खेलमा हिजो हङकङलाई हराउँदै विजयी शुरुवात गरेको छ । तेस्रो खेलमा नेपालले पर्सि शुक्रवार आयोजक मलेसियासँग खेल्नेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, कुवेत र हङकङ रहेका छन् ।
राउन्ड रोबिन आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ । थप दुई टोलीबीच तेस्रो स्थानका लागि पनि शनिवार नै प्रतिस्पर्धा हुनेछ ।
यसपछि नेपाली टोलीले आईसीसी विश्वकप एसिया छनोट खेल्नेछ । अगष्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा हुने एसिया क्षेत्र छनोटमा नेपालको समूह रहेको ‘ए’ मा युएई, कतार, मलेसिया, भुटान र बहराइन छन् ।
समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाईल्यान्ड छन् । एसिया छनोट अघि थाईल्यान्डसँग नेपालले अभ्यास खेल खेल्नेछ ।
नेपाल र थाईल्यान्डबीचको अभ्यास खेल अगष्ट २८ मा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।