आज यि प्रदेशमा धेरै वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी–हाल गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन्/ चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो तीन घण्टामा कपिलवस्तुको तौलिहवामा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तौलिहवा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको जनाउँदै महाशाखाले सो क्षेत्र भई बहने स-साना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ । साथै तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा आज दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ । तौलिहवामा पछिल्लो ३ घण्टामा ९२.६ मिलिमिटर वर्षा भएको छ भने एक घण्टामा १.२ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित रहेको जनाएको छ। साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ ।

आज दिउँसो आंशिकदेखि सामान्य बदली भई कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/ चट्याङ्सहित भारी वर्षाको सम्भावना छ।

राति देशको पहाडी भू-भागको थोरै स्थानमा तथा बाँकी भू-भागको एक-दुई स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ ।

भोलि (मंगलबार) बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/ चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा पनि हुनेछ ।

राति कोशी, मधेस र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागको थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बुधबार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन्/ चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना छ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । 

प्रकाशित:
2023/09/04, 7:40