एसिया कप क्रिकेट : सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले हरायो

सुदूर प्रेस संवाददाता

एजेन्सी– एसिया कप अन्तर्गत सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्लादेशलाई ७ विकेटले हराएको छ । जितका लागि एक सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३९ ओभर ३ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।

पाकिस्तानका इमाम उल हकले सर्वाधिक ७८ रन बनाए । मोहम्मद रिजवान ६३ र अघा सलमान १२ रनमा अविजित रहे । फखार जमाम २० र बाबर आजम १७ रनमा आउट भए । बङ्लादेशका मेहेदी हसन, शोरिफुल इस्लाम र तस्किन अहमदले एक/एक विकेट लिए । त्यसअघि लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको बङ्लादेश ३८ ओभर ४ बलमा १ सय ९३ रनमा अलआउट भयो ।

बङ्लादेशका मुश्फिकुर रहिमले सर्वाधिक ६४ रन जोडे ।

त्यस्तै, कप्तान सकिब अल हसन ५३ रनमा आउट भए । पाकिस्तानका हरिस रौफले ४ तथा नसिम शाहले ३ विकेट लिए । सुपर फोरमा पाकिस्तान, बङ्लादेश, भारत र श्रीलङ्का छन् । सबै टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।

प्रकाशित:
2023/09/07, 8:22