चार प्रदेशका भारी वर्षाको सम्भावना, तराईमा हावाहुरी चल्ने

सुदूर प्रेस संवाददाता

धनगढी–सामान्य बदली भई हाल देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महशाखाको पूर्वानुमान छ । मधेस प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा हावाहुरी चल्ने छ।

राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान छ। साथै मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

भोलि (आइतबार) पनि देशका सबै प्रदेशका केही स्थानमा वर्षा हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरुमा हावाहुरीको चल्नेछ।

राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

सोमबार कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षासमेत हुनेछ ।

राति कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित:
2023/09/09, 7:49