सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

धनगढी– हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यत: बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ । साथै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेशमा सामान्यत: बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई-स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

भोलि (सोमबार) कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ । राति कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार देशका पहाडी भूभागका केही र तराईका थोरै स्थानमा वर्षा हुनेछ । राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

प्रकाशित:
2023/09/10, 7:50