सुदूरपश्चिममा डेंगी संक्रमण बढ्दै, परीक्षण गर्न किट अभाव

सुदूर प्रेस संवाददाता

धनगढी– एक साताअघि मात्रै कञ्चनपुरको बेलौरी नगरपालिकामा एक युवकको डेंगी संक्रमणकै कारण मृत्यु भएको थियो । उनको पनि धनगढीमै उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी गत साता मात्रै दार्चुलामा पनि एक जनाको मृत्यु भएको थियो । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म डेंगीका कारण प्रदेशमा ३ जनाको मृत्यु भएको छ । गत वर्ष चार जनाको मृत्यु भएको थियो ।

जिल्लामा पछिल्लो दुई सातामा डेंगी संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ भने संक्रमण पनि दिनहुँ बढ्दो अवस्थामा छ । तीन महिनायता मात्रै जिल्लामा ९१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो तीन महिनामा सबैभन्दा बढी कैलालीमा २६५ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, अछाममा ३६, डोटीमा १५, डडेलधुरामा ८, बैतडीमा १, दार्चुलामा ६, बझांङमा ६ र बाजुरामा २८ जनामा संक्रमण देखिएको छ । 

‘संक्रमण बढ्दो अवस्थामा छ, सबैले सतर्कता अपनाउनु पर्छ,’ प्रदेश स्वास्थ्य निर्देशनालयका किटजन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले भने, ‘डेंगी संक्रमण अझै केही दिन लम्बिने देखिन्छ ।’ उनका अनुसार चिसो लागेपछि संक्रमण कम हुने अनुमान गरिएको छ ।

संक्रमण बढ्दै गए पनि परीक्षणका लागि किटको अभाव हुन थालेको छ । स्थानीय तहदेखि महाकाली प्रादेशिक अस्पताल र स्वास्थ्य कार्यालयमा समेत अभाव हुन थालेको स्वास्थ्य कार्यालय कञ्चनपुरका किटजन्य रोग नियन्त्रण अधिकृत सिद्धराज भट्टले बताए ।

‘अहिलेसम्म जेनतेन धानिएको छ,’ उनले भने, ‘हामीसँग भएको किट पनि सकियो, पालिकाहरुसँग भएको पनि सकिएको छ ।’ उनका अनुसार प्रदेश स्वास्थ्य निर्देशनालयमा पनि किटको अभाव छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले मागअनुसार आपूर्ति नभएका कारण जिल्लामा पठाउन नसकिएको जनाएको छ । ‘खरिदका लागि पर्याप्त बजेट पनि छैन,’ किटजन्य रोग नियन्त्रण अधिकृत जोशीले भने, ‘संक्रमण बढ्दो अवस्थामा छ, किट पनि अभाव हुन थाल्यो, खरिद गर्न बजेट पनि छैन ।’ उनका अनुसार किटको मूल्यमा एकरुपता नहुँदा समेत खरिदमा समस्या भएको छ । अहिले प्रदेशमा किटको मूल्य ७ सय देखि १५ सयसम्म पर्छ ।

स्वास्थ्य निर्देशनालयले मूल्यको एकरुपताका लागि समेत सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आग्रह गरिएको जोशीले बताए । तर मन्त्रालयले संघबाटै एकरुपता गरेमा सहज हुने जनाएको छ ।

किटको मूल्यमा एकरुपता भएमा निजी स्वास्थ्य संस्थामा पनि परीक्षण सहज हुने जोशी बताउँछन् । अहिले निजी स्वास्थ्य संस्थाहरुमा परीक्षण निकै महंगो छ । निजी स्वास्थ्य संस्थामा पनि परीक्षण हुन थालेपछि सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको चाप कम हुने उनले बताए ।

प्रकाशित:
2023/09/10, 8:10