सुदुरपश्चिममा आज पनि भारी वर्षाको सम्भावना

सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभाव छ।

महाशाखाकाअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।

राति आंशिकदेखि सामान्य बदली भई कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै भोलि (मंगलबार) दिउँसो कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति कोशी, मधेस र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित भारी वर्षा हुनेछ । 

बुधबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी भूभागका एक दुई स्थानमा सामान्य वर्षाको सम्भावना छ। राति कोशी, मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थान र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । 

प्रकाशित:
2023/09/11, 8:12