एसिया कपको उपाधिका लागि आज भारत र श्रीलंका भिड्दै

सुदूर प्रेस संवाददाता

एजेन्सी– एसीसी एसिया कपको उपाधिका लागि आज साविक विजेता श्रीलंका र भारत आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ बजे फाइनल खेल सुरु हुने छ ।

दुवै टिम एसिया च्याम्पियन बन्दै ओडीआई विश्वकपमा आफ्नो दाबी बलियो बनाउने लक्ष्यमा छन् । भारतलाई आठौं पटक एसिया च्याम्पियन बन्ने र श्रीलंकाली युवा टिमलाई सर्वाधिक उपाधि जित्ने कीर्तिमान बराबरी गर्ने अवसर छ । तर कोलम्बोमा आज पनि वर्षाको अधिक सम्भावना भएकाले खेल प्रभावित हुन सक्नेछ ।

 

भारतले सुपर फोरमा श्रीलंकालाई नै पराजित गरेर फाइनलमा स्थान सुरक्षित गरेको थियो । २ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका १ सय ७२ रनमा अल आउट भएको थियो । श्रीलंकाले जारी प्रतियोगितामा बेहोरेको एकमात्र हार यही हो । श्रीलंकाले उपाधि दाबेदार पाकिस्तानलाई २ विकेटले हराएर भारतसँगको भेट पक्का गरेको हो । सुपर फोरको अन्तिम खेलमा भने भारत बंगलादेशसँग ६ रनले स्तब्ध भयो ।

ओडीआईमा बंगलादेशले एघार वर्षपछि भारतमाथि जित हात पारेको हो । फाइनलअघि यो हारले आत्मविश्वासमा केही कमी आएपछि रोहित शर्माको टिम सशक्त रुपमा फाइनलमा फर्कने लक्ष्यमा छ ।

 

फाइनलअघि दुवै टिमलाई खेलाडीको चोटले झट्का लागेको छ । श्रीलंकाका स्पिनर माहिस थिक्साना र भारतका अल राउन्डर अक्सर पटेल उपलब्ध हुने छैनन् ।

आईसीसी, एसीसी र ट्राइ सिरिजसहित सबै प्रतियोगितामा दुई टोली २० औं पटक उपाधि भिडन्तमा आमनेसामने हुँदैछन् ।

२००२ को च्याम्पियन्स ट्रफीको फाइनल खेल वर्षाका कारण पूर्ण हुन नसक्दा यी दुवै टोली संयुक्तरुपमा विजयी घोषित भएका थिए । एसिया कपको इतिहासमा यी दुई टोलीबीचको यो आठौं फाइनल हुनेछ । अघिल्ला सात उपाधि भिडन्तमा भारतले ४ र श्रीलंकाले ३ फाइनल जितेको छ । 

प्रकाशित:
2023/09/17, 8:05