आज गणेश चतुर्थी पर्व

सुदूर प्रेस संवाददाता

धनगढी– अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ ।

 

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

 

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । बिहान हरितालिका (तीज) को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजाआराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको धर्मशास्त्रविद् भट्टराईले जनाए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

 

मंगल चतुर्थीसमेत भनिने यो पर्व मंगलबार नै परेको छ । यो पर्वलाई नेवार समुदायले भने चथा नाममा मनाउँछन् । 

प्रकाशित:
2023/09/19, 7:11