राष्ट्रपतिद्वारा ३४ जनाको सजाय माफी अस्वीकृत

सुदूर प्रेस संवाददाता

धनगढी–राष्ट्रपति रामचन्द्र पौडेलले हत्यामा सजाय तोकिएका २५ सहित ३४ जनालाई सजाय माफी दिन अस्वीकार गरेका छन् । संविधान दिवसका अवसरमा सरकारले कैद माफीका लागि राष्ट्रपतिसँग गरेको ३४ जनाको सिफारिस अस्वीकृत भएको हो ।

तर राष्ट्रपतिले ६७० जनाको कैद सजाय भने मिनाह गरेका छन् । गत वर्ष अदालतले जन्मकैद तोकेका रेशम चौधरीको कैद माफी गरेको भन्दै आलोचना भएपछि यसपटक राष्ट्रपति पौडेलले कैद माफी दिन सरकारले सिफारिस गरेकाहरुको विवरण माग गरेका थिए ।

हत्या तथा हत्या प्रयासजस्तो जघन्य अपराधमा सजाय तोकिए पनि जेल नबसेकाहरुको समेत नाम सिफारिस भएपछि राष्ट्रपतिले ३४ जनाको माफी सिफारिस अस्वीकृत गरेका हुन् ।

तर मन्त्रिपरिषद्‌को भदौ २९ गतेको बैठकको सिफारिसअनुसार राष्ट्रपतिले ६७० कैदीहरुको कैद भने मिनाहा गरेका छन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आज विज्ञप्ति जारी गर्दै असोज ३ गतेदेखि लागु हुने गरी ६७० कैदीको कैद मिनाह गरेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन् ।

प्रकाशित:
2023/09/20, 8:07