सरकार र शिक्षकबीच ६ बुँदे सहमति भए पछि फर्किय शिक्षक

सुदूर प्रेस संवाददाता

काठमाडौं–सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमति जुटेको छ । शुक्रबार गृह मन्त्रालयमा भएको वार्तामा दुई पक्षबीच सहमति भएको हो ।

सरकार शिक्षा विधेयक संशोधन गर्न तयार भएको छ भने शिक्षकहरुले आन्दोलन फिर्ता लिने भएका छन् । 

सहमतिअनुसार प्रस्तावित शिक्षा विधयेकमा शिक्षकमाथि स्थानीय तहले गर्ने कारबाही पुनरावलोकन गर्न पाउने प्रावधान थपिने भएको छ । 

त्यसैगरी, ५० हजार २ सय अस्थायी तथा करारका दरबन्दी कायम गरी तिनको स्थायी प्रक्रियामा आन्तरिक तर्फबाट ७५ र खुला प्रतिस्पर्धाबाट २५ प्रतिशत कोटा कायम गर्ने सहमति जुटेको छ । यसअघि विधेयकमा ५०/५० प्रतिशत आन्तरिक र खुलाबाट नियुक्ति गर्ने भनिएको थियो ।

सहमतिमा के छ ?

सरकार र शिक्षकबीच भएको सहमतिमा सार्वजनिक विद्यालयका शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने भनिएको छ । शिक्षा विधेयक बनाउँदा शिक्षक महासंघका मागहरुलाई समेटिने सहमतिको दोस्रो बुँदामा उल्लेख छ । सहमतिको तेस्रो बुँदामा शिक्षा नियमावली बनाउँदा समावेश गरिने विषयहरु उल्लेख छन् । चौथो बुँदामा शिक्षाको राष्ट्रिय मापदण्डमा उल्लेख गर्ने विषयहरु समावेश गरिएका छन् ।

सहमतिको पाँचौं बुँदामा शिक्षकहरुको रिक्त दरबन्दीमा आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत र बाह्य प्रतिस्पर्धाबाट २५ प्रतिशत पदपूर्ति गर्ने भनिएको छ ।

छैटौं बुँदामा विद्यालयलाई शान्ति क्षेत्र कायम गर्ने र सुरक्षाको प्रत्याभूति गरिने उल्लेख छ । सातौं बुँदामा शिक्षकको जारी आन्दोलन अन्त्य गर्ने भनिएको छ ।

प्रकाशित:
2023/09/23, 8:00