सुदुरपश्चिम प्रदेशसभा ठप्प,बिजनेस नदिइएपछि सभामुख रुष्ट

सुदूर प्रेस संवाददाता

धनगढी — सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभालाई बिजनेस नदिएको भन्दै सरकारप्रति रोष प्रकट गरेका छन् ।  धनगढीमा भएको एउटा अन्तरक्रियामा उनले ‘प्रदेश सरकार हराएको’ टिप्पणी गरे  ।  सभामुख भण्डारीले सरकारले ऐन, कानुन निर्माणका लागि विधेयक दर्ता नगर्दा बैठक बस्न नसकेको बताए । भदौ ४ गते स्थगित भएको बैठक अब कहिले बस्ने भन्ने टुंगो लागिसकेको छैन । 

उनले सरकारको कमजोरीका कारण प्रदेश सांसदहरुले आलोचना खेप्नु परिरेको गुनासोसमेत गरेका छन् । ‘सरकारले काम दिँदैन, आलोचना हामीले खेप्नु परेको छ,’ उनले भने ‘मुख्यमन्त्री, मन्त्रीहरुले लिइरहेको सेवा सुविधामा पनि प्रदेशसभा सदस्य आलोचित हुनु परेको छ ।’

यता, सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्ट भने संघ सरकारले आवश्यक कानुन निर्माणमा ढिलाई गरेकाले प्रदेशमा कानुन निर्माण प्रक्रिया प्रभावित भएको दाबी गर्छन् ।

सभामुख भण्डारीले प्रदेशसभाका विषयगत समितिहरुको सभापति चयनका लागि यही असोज १२ गते निर्वाचन गर्ने कार्यतालिका निर्धारण गरेका छन् । प्रदेशसभा सचिवालयद्वारा आइतबार जारी गरिएको तालिकाअनुसार १२ गते मतदान हुने छ । सुदूरपश्चिममा चार वटा विषयगत समितिहरु छन्, चार दलको गठबन्धन सरकार भएकाले सभापतिमा समेत भागबन्डा हुने निश्चित छ । कांग्रेस सांसद मेघराज खड्का भन्छन्, ‘सबै माथिबाट नै तोक्ने परिपाटी भइसक्यो । यसमा पनि त्यही होला सायद ।’

प्रकाशित:
2023/09/25, 8:10