२८ करोडमा निर्मित धनगढी सभागृह अलपत्र

सुदूर प्रेस संवाददाता

धनगढी –धनगढी उपमहानगरपालिका–८ मा साढे २८ करोडको लागतमा निर्मित धनगढी सभागृह अलपत्र परेको छ । सहरी विकास मन्त्रालय अन्तर्गत संघीय आयोजना कार्यान्वयन इकाई धनगढीमार्फत सो सभागृहको संरचना निर्माण भएको हो । निर्माण सम्पन्न भएपछि संघीय आयोजना कार्यान्वयन इकाई धनगढीले सो सभागृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने हो । तर धनगढी उपमहानगरपालिकाले स्वामित्व लिन नमानेपछि सभागृह अलपत्र परेको छ । धनगढी सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड नहुँदा र हल सञ्चालनका लागि चाहिने फर्निचर, साउण्ड सिस्टम, एसी जडानलगायतका कार्य अधुरो रहेको भन्दै उपमहानगरपालिकाले स्वामित्व लिन इन्कार गरेको हो । 

उपमहानगरपालिकाका इन्जिनियर द्विजराज भट्टले भने, ‘सभा हल नै अधुरो छ । सञ्चालन हुनलाई कुनै मापदण्ड चाहिएला नि ? त्यो पनि छैन । खाली संरचनामात्रै छ । यत्रो ठुलो हलमा एउटा पनि फर्निचर छैन, फर्निचर चाहियो नि । त्यहाँ एसी छैन । साउण्ड सिस्टम छैन । सभा हल भइसकेपछि त्यो अनिवार्य आवश्यकता हो । संरचनामात्रै लिएर ताला लगाएर कुनै काम छ र ?’

इन्जिनियर भट्टले फर्निचरमा मात्रै ३० लाखभन्दा बढी रकम खर्च हुने बताउँछन् । साथै साउण्ड सिस्टमलगायत अन्य उपकरण जडानमा साढे २ करोड लाग्ने अनुमान गरिएको छ । त्यति रकम नगरपालिकाले लगाउन नसक्ने भन्दै संघीय सरकारले नै सम्पन्न गर्नुपर्ने उनको जोड छ । फर्निचर र साउण्ड सिस्टम जडान भएपछि भने स्वामित्व लिन सकिने उनले बताए ।

डेढ बिघा जमिनमा २८ करोड ५५ लाख रुपैयाँ लगानीमा बनेको सभागृहको निर्माण, रङरोगन र विद्युत् जडान लगायतका सम्पूर्ण मुख्य कार्य २०७९ असारमा सम्पन्न भई निर्माण कम्पनीले संघीय आयोजना कार्यान्वयन इकाईलाई हस्तान्तरण गरिसकेको छ ।

निर्माण कार्य सम्पन्न भएपछि हस्तान्तरणको तयारी समेत गरेको अवस्थामा धनगढी उपमहानगरपालिकाले बुझ्न नमानेपछि स्थगित भएको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले बताए । मन्त्रालयले सञ्चालन कार्यविधि तथा मापदण्ड बनाइरहेको बताउँदै उनले फर्निचर र साउण्ड सिस्टमका लागि अर्को ठेक्का गर्नुपर्ने बताए ।

सभा हलभित्र के–के छ ?

राष्ट्रिय सभागृहको मोडेलमा बनाइएको सभागृहमा ९ सय जना क्षमताको एउटा मुख्य अडिटोरियम, २५० जना क्षमताको एउटा सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र २ वटा रिहर्सल कक्ष छ ।

करिब ४ सय गाडी अटाउने अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ पनि तयार गरिएको छ ।

आयोजना कार्यालयका अनुसार बिजुली बत्तीसहित तातो–चिसोका लागि एसी तथा हिटर, खानेपानी जडान र गार्डेन डिजाइन लगायत सम्पूर्ण कार्य गत वर्ष नै सम्पन्न भएको छ । सभागृहमा फर्निचर र साउण्ड सिस्टम जडान गर्न यो वर्ष २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

सभागृहका लागि आवश्यक पर्ने साउण्ड सिस्टमको विषयमा अध्ययन गर्ने कार्य भइरहेको सूचना अधिकारी कलौनीले बताए । उनले सो बजेटले यसै वर्ष सम्पन्न गर्ने वा बहुवर्षीय योजनामा लगेर उच्च गुणस्तरको साउण्ड सिस्टम जडान गर्ने भन्ने विषयमा अध्ययन भइरहेको बताए । फर्निचर र साउण्ड सिस्टम नभएको बहानामा एक वर्षदेखि सो सभागृह अलपत्र परेको छ ।

सो सभागृह सञ्चालन हुन नसकेको कारण सरकारी कार्यक्रम होटल र पार्टी प्यालेसमा भइरहेका छन् । धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्ने ठुला कार्यक्रमहरु सभाहलको अभावमा पार्टी प्यालेस, होटलमा गर्नुका साथै मन्त्रालयको प्राङ्गणमा टेण्ट लगाएर आयोजना गर्नुपर्ने बाध्यता छ ।

धनगढीमा हुने बैठक, सभा, गोष्ठी, सेमिनार जस्ता ठुला कार्यक्रम गर्ने स्थानको आवश्यकता महसुस गरेर बनाइएको सभाहल सञ्चालन हुन नसक्दा सरकारी कार्यालयहरूले त्यस्ता कार्यक्रम महँगो भाडा तिरेर पार्टी प्यालेस, होटलमा सञ्चालन गरिरहेका हुन् । 

प्रकाशित:
2023/09/26, 7:40