पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द

सुदूर प्रेस संवाददाता

बैतडी — भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुंगे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो ।  

भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले सोमबार सीमानाकामा आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एक दिनका लागि पुलमा आवागमन बन्द गरिएको हो ।

यसअघि सीमा क्षेत्रमा नेपाल-भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो ।

तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला काम चलाउका लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा यहाँ आवतजावत गर्ने मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

प्रकाशित:
2023/09/26, 8:01