कैलालीमा पाँच हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप

सुदूर प्रेस संवाददाता

धनगढी –विश्व रेबिजविरुद्धको दिवसको अवसर पारी कैलालीमा पाँच हजार कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले धनगढी उपमहानगरपालिकासहित जिल्लाका १३ वटै स्थानीय तहमा छाडा र घरपालुवा गरी पाँच हजार कुकुरलाई निःशुल्क रेबिजविरुद्धको खोप लगाएको हो ।

सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा करिब तीन हजार कुकुरलाई खोप लगाइएको छ । छाडा कुकुरको बिगबिगी बढेको र कतिपय हिँड्डुल गर्ने मानिस, अन्य कुकुर र जनावरलाई बौलाहा कुकुरले टोकेर रेबिज भएको पाइएपछि सप्ताहव्यापी खोप अभियान थालिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. हेमराज अवस्थीले बताए । सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा १५ हजार कुकुरलाई खोप लगाउने लक्ष्य रहेको डा. अवस्थीले जानकारी दिए । खोप लगाउन टोलटोलमा भेटेरिनरी डाक्टर र प्राविधिकहरूको टोली खटाइएको छ । गत वर्ष काठमाडौंपछि सबैभन्दा बढी कैलाली र कञ्चनपुर जिल्लामा पशुमा रेबिज देखिएको थियो । आठ महिनाको अवधिमा कुकुर, स्याल, गाई, बाख्रा र भैँसी गरी ५५ वटामा रेबिज देखिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेशप्रसाद जोशीले जानकारी दिए ।

विश्व रेबिजविरुद्धको दिवसको अवसर पारी खोपका साथै सुदूरपश्चिममा विभिन्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ ।

रेबिज रोकथाम र यस रोगविरुद्धमा भइरहेको प्रगतिको जागरुकता जगाउनका लागि हरेक वर्ष सेप्टेम्बर २८ लाई विश्व रेबिजविरुद्धको दिवसको रुपमा मनाइन्छ । यस वर्षको नारा ‘सबैका लागि एक, सबैका लागि एकै स्वास्थ्य’ ले स्वास्थ्य केही चुनिएका व्यक्तिका लागि मात्र होइन, सबैका लागि हो भन्ने सन्देशलाई प्रकाश पारेको छ । 

प्रकाशित:
2023/09/28, 4:35