दक्ष जनशक्ति उत्पादनमा लाग्यो धनगढी उपमहानगर, सीपमूलक तालिम दिन व्यावसायिक शिक्षालय स्थापना हुँदै

सुदूर प्रेस संवाददाता

धनगढी– सुदुरपश्चिममा रहेको बेरोजगार जनशक्तिलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाको फूलबारीमा धनगढी व्यावसायिक शिक्षालय स्थापना गरिने भएको छ। 

धनगढी उपमहानगरसँगको सहकार्यमा नेपाल युथ फाउन्डेसनद्वारा सञ्चालित ओल्गापुरी भोकेसनल स्कुलले धनगढीमा व्यावसायिक शिक्षालय स्थापना गर्न लागेको हो।  

व्यावसायिक शिक्षालय स्थापनाका लागि दुवै पक्षबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। शिक्षालय स्थापना गर्न उपमहानगरले धनगढी– १८, फूलबारीमा करिब चार बिघा जमिन उपलब्ध गराउन लागेको छ।

व्यावसायिक शिक्षालय भवनको डिजाइन तयार भइसकेको र डेढ वर्षभित्र शिक्षालयका सबै संरचना निर्माण गरिसक्ने लक्ष्य लिइएको नेपाली युथ फाउन्डेसनका सञ्चालन निर्देशक विश्व गोर्खालीले जानकारी दिएका छन्।

संरचना निर्माण नभएसम्मका लागि फूलबारी बहुमुखी क्याम्पसको भवनमा तालिमहरू सञ्चालन गरिनेछ। प्लम्बिङ र बिल्डिङ इलेक्ट्रिक तालिम यसै साताबाट सुरु गरिएको छ। उपमहानगरका अनुसार यी दुवै तालिममा ५० जना प्रशिक्षार्थी सहभागी छन्। 

इलेक्ट्रिक, प्लम्बिङ, फर्निचर कार्पेटिङ, वेल्डिङलगायत गरी चारवटा विधाका तालिम तत्कालै सुरु गरिने र अन्य विधाका तालिम थपिँदै लग्ने गोर्खालीले बताए। निःशुल्क रहेका यी तालिम तीन महिनासम्म सञ्चालन हुनेछन्। एक वर्षमा कम्तीमा चार सयजना बेरोजगारलाई सीपमूलक तालिम दिइने उनले बताए। 

धनगढी उपमहानगरपालिकाको अग्रसरतामा ओल्गापुरी भोकेसनल स्कुलले व्यावसायिक शिक्षालय स्थापना गर्न लागेको हो। ‘धनगढी उपमहानगरपालिकाले व्यावसायिक तालिमहरू सञ्चालनमा चासो देखाएपछि हामी यहाँ आएका हौँ,’ गोर्खालीले भने, ‘स्थापनाको केही वर्षपछि व्यावसायिक शिक्षालय उपमहानगर आफैँले सञ्चालन गर्नेछ।’ 

सुरुको वर्ष अल्गापुरीको लगानीमा सञ्चालन हुने तथा त्यसपछिका वर्षमा उपमहानगरको क्रमशः २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र ६ वर्षपछि पूर्ण रूपमा उपमहानगरले आफैँ सञ्चालन गर्ने समझदारी छ। 

ललितपुरमा रहेको ओल्गापुरी भोकेसनल स्कुल निःशुल्क व्यावसायिक तालिम प्रदान गर्ने ख्यातिप्राप्त संस्था हो।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले औपचारिकताका लागि मात्र नभई बेरोजगारलाई स्वरोजगार बनाउन सीपमूलक तालिम दिन लागिएको बताए। धनगढीमा व्यावसायिक शिक्षालय रोजगारी सिर्जनाका लागि कोसेढुंगा साबित हुने उनको विश्वास छ।

‘अहिले व्यावसायिक तालिमका नाममा लाखौँ खर्च भइरहेको छ, तर तालिमबाट सिकेको सीप व्यवहारमा लागू हुन सकेको छैन,’ नगर प्रमुख हमालले भने, ‘हामीले तालिम दिएर स्वरोजगार बनाउन खोजेका हौँ।’ तालिममा सहभागिताका लागि अग्रसरता देखाउन पनि उनले नगरवासीलाई आग्रह गरे।

दुई वर्षपछि सुदूरपश्चिमका सबै पालिकाबाट तालिममा सहभागिता जनाउन पाइने उपमहानगरले जनाएको छ। यसलाई सुदूरपश्चिमकै नमुना व्यावसायिक शिक्षालयको रूमा विकास गर्ने लक्ष्य रहेको नगर प्रमुख हमालले बताए। 

फूलबारी बहुमुखी क्याम्पसका अध्यक्ष रमेश बस्नेतले सीपमूलक तालिम सिकेर युवाहरू आत्मनिर्भर बनून् भनेर तालिम सञ्चालनका लागि क्याम्पसले भवन उपलब्ध गराएको बताए। यो शिक्षालयले बेरोजगारी समस्या न्यूनीकरणमा ठूलो टेवा पुग्ने बस्नेतले बताए। 

समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बेरोजगारी समस्या समाधानका लागि तीनै तहका सरकार र सरोकारवाला संस्थाहरू सहकार्य गरेर जानुपर्ने बताए। धनगढीमा व्यावसायिक शिक्षालय स्थापना हुनु सुदूरपश्चिमकै लागि महत्वपूर्ण रहेको उनले बताए।

स्वरोजगारी सिर्जनामा धनगढीमा व्यावसायिक शिक्षालयले सञ्चालन गर्ने तालिमले स्वरोजगारी सिर्जनामा योगदान पुग्ने उनले अपेक्षा गरे। 
 

प्रकाशित:
2023/09/29, 4:46