बझाङमा निरन्तर भूकम्पको धक्का : सडक, कान्लामा पीडितको बास

सुदूर प्रेस संवाददाता

बझाङ — मंगलबार दिउँसो गएको ६.३ म्याग्निच्युडको भूकम्पपछि बझाङमा निरन्तर सानाठूला परकम्प जाने क्रम जारी छ । मंगलबारको रात खुला आकाश, सडक, चौरमा कटाएका स्थानीय बुधबार पनि घरमा पस्न सकेका छैनन् । अधिकांश घरहरू भूकम्पले चर्किएको र निरन्तर परकम्पहरू आइरहेका कारण स्थानीयहरू घरभित्र सुत्न डराइरहेका हुन् ।  सदरमुकाम चैनपुरकी बासिन्दा अनिता शाहीले मंगलबारदेखि पाँच–दस मिनेटको फरकमा धर्ती हल्लेको हल्लेई भएको र त्यसका कारण घरहरू चर्किएको बताइन् । ‘भित्र बसौं भने कुन बेला भत्किने हो भन्ने डरले बाहिरै बसेका छौं,’ उनले भनिन्, ‘केटाकेटीले डरले राम्रोसँग खाना खान पनि सकेका छैनन् । सबैको बिजोग छ ।’ रातभर चिसो भुइँ र खुला आकाशमा सुत्नुपरेका कारण बालबालिका र वृद्धवृद्धाहरू चिसो लागेर बिरामी हुन थालेको उनले बताइन् ।  

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटदेखि बुधबार ५ बजेसम्म बझाङ सदरमुकाम र आसपासका ठाउँलाई केन्द्र बनाएर २ सय ३४ परकम्पहरू गएका छन् । मापन केन्द्रका प्रमुख बलबहादुर तामाङले यसबीचमा एक पटक ६.३ म्याग्निच्युड, चार पटक ५ म्याग्निच्युडभन्दा माथि र सात पटक चार म्याग्निच्युडभन्दा माथिको भूकम्प गएको र अन्य परकम्पहरू चार म्याग्निच्युडभन्दा कमको रहेको बताए ।

लगातार परकम्प आउन थालेपछि मंगलबार खुलाचौर, सडक किनार, बारीका कान्ला र विद्यालयका चौरमा रात बिताएका स्थानीयहरू बुधबार पनि बाहिरै घरभित्र जान सकिरहेका छैनन् । जिल्ला अस्पतालका बिरामीहरूलाई पनि रातभर अस्पताल बाहिरको खुला आकाशमै राखेर उपचार गरिएको थियो । अस्पतालका निमित प्रमुख डा. इन्द्र शाहले लगातार आइरहेको भूकम्पका कारण बिरामी र कुरुवाहरूले भित्र बस्न नमानेका कारण मंगलबार रातभर खुलाचौरमा राखेर उपचार गरिएको बताए । लगातार गइरहेको परकम्पका कारण जोखिम बढेको भन्दै बुधबार जिल्लाभरिका विद्यालय बन्द गरिएका छन् भने आइतबारसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको छ ।

मंगलबार आएको भूकम्पसँगै पहिरोमा पुरिएर बेपत्ता भएकी जयपृथ्वी नगरपालिका–११ की महिला स्वयंसेविका गुनमती धामीको शव बुधबार फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपेश चौधरीले शवको केही टुक्रा पहिरोमा पुरिएको अवस्थामा फेला परेको बताए । 

प्रकाशित:
2023/10/05, 9:18