१९औँ एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीतर्फ नेपाललाई पहिलो पदक

चीन–चीनको हाङ्झाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । 

महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग पराजित भएसँगै नेपाल कास्य पदकमै सीमित भएको हो । केहीबेर अघि सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ६१–१७ अङ्कले पराजित गरेको हो । 

नेपाल समूह ‘बी’को उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो । यस्तै, भारत समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनमा प्रवेश गरेसँगै नेपालले जारी एसियाली प्रतियोगितामा कम्तीमा कास्य पदक पक्का गरेको हाे । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्ने प्रावधान छ ।  

महिला कबड्डीतर्फ नेपालले पहिलोपटक एसियाली खेलकुदमा भाग लिएको हो । नेपाल रहेको समूह ‘बी’ मा इरान र बङ्लादेश रहेका थिए । इरान समूह ‘बी’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले अहिले समूह ‘ए’ को उपविजेता चाइनिज ताइपेइसँग प्रतिस्पर्धा गर्दैछ ।  

यसअघि नेपालले पहिलो खेलमा सोमवार बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको थियो भने दोस्रो खेलमा मङ्गलवार इरानसित १९–४३ अङ्कले पराजित भएको थियो । नेपाली टोलीमा मेनुकाकुमारी राजवंशी (कप्तान), मानमती विष्ट, जयन्ती बडु, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गङ्गा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जना थारु र कलावती पन्त रहेका थिए । टोलीका प्रशिक्षकमा विष्णुदत्त भट्ट रहेका थिए । 

प्रकाशित:
2023/10/06, 8:57