नेपालगन्जमा आज बिहान ९ बजेदेखि राति ८ बजेसम्म कर्फ्यु

सुदूर प्रेस संवाददाता

धनगढी– नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र आज बिहान ९ बजेदेखि राति ८ बजेसम्म निषेधाज्ञा (कर्फ्यु आदेश) जारी गरिएको छ ।

जिल्ला प्रशासन बाँकेले आजै कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला प्रशासनका अनुसार पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाकाभित्र भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन गर्न पाइने छैन । 

यस्तै हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस जम्मासमेत हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको कर्फ्यु आदेशमा उल्लेख छ ।

त्यसैगरी शुक्रबार राति ८:०० बजेदेखि उपमहानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकी कर्फ्यु आदेश जारी गरिएकोमा बिहान ६:०० बजेदेखि हटाइने र राति ८:०० बजेदेखि आइतबार बिहान ४:०० बजेसम्मका लागि पूर्ववत् रूपमै कर्फ्यु लगाइने जिल्ला प्रशासनले जानकारी दिएको छ । 

प्रकाशित:
2023/10/07, 8:48