एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आज,अध्यक्ष ओलीले उद्घाटन गर्ने

सुदूर प्रेस संवाददाता

धनगढी–नेकपा एमाले सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन आज देखि  धनगढीमा सुरु हुँदैछ । धनगढीको सौँराइ पार्टी प्यालेसमा हुने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

अधिवेशनमा सहभागी हुन अध्यक्ष ओली अहिले बिहानको नियमित उडानमार्फत काठमाडौंबाट धनगढी आउँदै छन् । अध्यक्ष पदमा अहिलेसम्म कमल तिमिल्सेना, कृष्णप्रसाद जैसी र बच्चनबहादुर सिंहको नाम चर्चामा छ । सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गरिने, सहमतिमा पुग्न नसके निर्वाचनबाट टुङ्गो लगाउने एमाले केन्द्रीय सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जनाए ।

अधिवेशनमा प्रदेशका ९ जिल्लाका ६ सय ७५ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले पदाधिकारीसहित १ सय ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । उद्घाटनपछि हुने बन्द सत्रमा राजनीतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यक्रम छ ।

उद्घाटन सत्रमा विभिन्न झाँकी प्रस्तुत गर्ने तयारी छ । कार्यक्रम व्यवस्थापनका लागि १ सय ५० जना स्वयम् सेवक परिचालन गरिने एमालेले जनाएको छ । अधिवेशनमा सहभागी हुनका लागि ९ वटै जिल्लाबाट प्रतिनिधि र कार्यकर्ता धनगढी आउने क्रम जारी छ ।

प्रकाशित:
2023/10/08, 7:45