कैलालीको गेटामा अस्पताल सञ्चालन

सुदूर प्रेस संवाददाता

धनगढी– कैलालीको गेटामा आज देखी एक सय शय्या क्षमताको अस्पताल सञ्चालन हुने भएको छ। त्यसका लागि सबै तयारी पूरा भएपछि भोलिबाट अस्पताल सञ्चालनमा आउन लागेको निर्देशक प्रमोद जोशीले जानकारी दिए।

त्यसका लागि आवश्यक बजेट, कर्मचारी व्यवस्थापन, स्वास्थ्य उपकरण औषधि लगायतको प्रबन्ध भइसकेको छ। अस्पताल सञ्चालनका लागि सहायक स्तर र श्रेणीविहीन गरेर ११० जना र नेपाल सरकार मन्त्रिपरिषद्को २०८० असोज १६ गतेको निर्णयअनुसार राजपत्रांकित तथा अधिकृतस्तर ३१ जनाको अस्थायी दरबन्दी संरचना स्वीकृत भएपछि अस्पताल सञ्चालनमा ल्याउन सहज भएको बताइएको हो।

आव २०८०।०८१ को बजेटमा गेटा अस्पताललाई १ सय शय्या क्षमताको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको थियो।

साथै २०८० भदौ १३ गतेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरको निर्णयानुसार वार्षिक विकास कार्यक्रम स्वीकृत भई प्राप्त भएको एवं चालू आवको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शन गेटा अस्पताललाई प्राप्त भएपछि भोलिदेखि अस्पताल सञ्चालनमा आउने अस्पतालका निर्देशक डाक्टर जोशीले बताए।

आज गेटामा पत्रकार सम्मेलन गरेर आज देखीअस्पताल सञ्चालनमा आउने उनले बताएका हुन्। साथै गेटामा बहिरंग सेवा सञ्चालनका लागि मन्त्रालयले भदौ २१ गते अनुमति दिएको थियो।

सेती प्रादेशिक अस्पतालकै सेवा शुल्क लिने गरी गेटामा अस्पताल सञ्चालन हुन लागेको उनले बताए। अस्पताल सञ्चालनमा ल्याउने अहिले गेटामा निर्देशकसहित चिकित्सक तथा स्वास्थ्यकर्मी लगायत २६ जना जनशक्ति हाजिरी भइसकेका छन्।

कात्तिक १ गतेदेखि गेटा अस्पतालबाट जनरल बहिरंग, हाडजोर्नी तथा नसारोग ओपिडी, स्त्रीसेवा, जनरल सर्जरी, अल्ट्रासाउन्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा आउनेछ।

यसका साथै एमसीएच क्लिनिक सेवा कात्तिक महिनाभित्र, खोपसेवा विस्तार र अन्तरंग सेवा मंसिर महिनाभित्र,  आकस्मिक सेवा र प्रसूति सेवा पौष महिनाभित्र, शल्यक्रिया सेवा विस्तार चैत महिनाभित्र, आइसीयू तथा एनआइसीयू सेवा आगामी वैशाखभित्र सञ्चालनमा ल्याउने तयारी छ।

अस्पताल सञ्चालन तथा सेवा सुरु गर्ने विषयमा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सुरक्षानिकायका प्रमुख, गोदावरी नगरपालिकाका प्रमुख, वडाध्यक्षहरु लगायत सरोकारवाला निकायले अस्पतालको अवलोकन र निरीक्षण गरेका छन्।

सेती प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि उपचार पाउनबाट वञ्चित बिरामीले अब गेटा अस्पतालबाट सहजै सेवा पाउने भएका छन्। गेटा अस्पतालमा क्रमिक रूपमा शय्या संख्यासँगै जनशक्ति र औषधि लगायतको प्रबन्ध गर्ने गरी काम अघि बढाइएको छ।

प्रकाशित:
2023/10/18, 8:11