आज अन्तर्राष्ट्रिय योग दिवस

स्वस्थ र सकारात्मक जीवनयापनका लागि नेपालमा पनि योगप्रतिको आकर्षण बढ्दो
सुदूर प्रेस संवाददाता

धनगढी– आज अन्तर्राष्ट्रिय योग दिवस । स्वयं र समाजका लागि योग भन्ने नाराका साथ विश्वभर यस वर्षको योग दिवस मनाइँदै छ ।

मानसिक र शारीरिक स्वास्थ्यका लागि महत्त्वपूर्ण मानिएको योगप्रति मानिसहरूलाई जागरूक बनाउन प्रत्येक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन लागिएको हो । आध्यात्मिक कल्याण कालागि पनि योगको निकै महत्त्व रहेको छ । पूर्वीय दर्शनमा आधारित योग पछिल्ला वर्षहरूमा पश्चिमा देशमा पनि निकै लोकप्रिय हुँदै गएको पाइन्छ । 

अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर नेपालमा पनि आज विविध कार्यक्रम गरिँदै छ । यसै सन्दर्भमा आज बिहान काठमाडौंको नक्सालस्थित नारायण चौरमा एक  हजार मानिसले एक साथ सूर्य नमस्कार आसन गरेका छन् । यो आफैँमा विश्व कीर्तिमान भएको आयोजकको दाबी छ । 

यस्तै अन्तर्राष्ट्रिय योग दिवस मनाउन सरकारले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ । समितिले भक्तपुरको एसओएस बालग्राममा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि र योगाभ्यासकर्ता सहभागी हुनेछन् ।

मूल कार्यक्रमअघि पेप्सीकोला, गठ्ठाघर, लोकन्थली र मध्यपुरथिमि चोकबाट बालग्रामसम्म प्रभातफेरी हुने उक्त मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिनुभयो ।

मूल समारोह समितिको गत जेठ ३० गतेको बैठकले दिवसको आदर्श वाक्य ‘महिला सशक्तीकरणका लागि योग’ चयन गरेको थियो । सोही बैठकले प्रदेश र स्थानीय तहमा पनि योग दिवस मनाउन पत्राचारका साथै विद्यालय स्तरमा दिवस मनाउन सबै शिक्षा विकास तथा समन्वय एकाइमार्फत विद्यालयहरूलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् २०१४ को डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ को जुन २१ देखि यो दिवस मनाउन थालिएको हो । महासभामा उक्त प्रस्ताव भारत सरकारले प्रस्तुत गरेको थियो ।

प्रकाशित:
2024/06/23, 7:25
SPA
KN
Priya Gahana Pasal