देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

सुदूर प्रेस संवाददाता

धनगढी–'जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने मूल नाराका साथ आज २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव देशभर मनाइँदै छ । प्रचारात्मक कार्यक्रम गरी धान दिवस मनाइरहँदा हामीले धानको अपेक्षित उत्पादन बढाउन सकिरहेका छैनौं । जलवायु परिवर्तन, किसान समक्ष उन्नत जात र प्रविधि पहुँच विस्तार नहुँदा उत्पादनको बढाउन झन्-झन् चुनौती थपिँदै गएको छ ।

समुद्री सतहबाट तराईमा ६० मिटरदेखि ३०५० मिटर अग्लो स्थान जुम्लाको छुमचौरसम्म नेपालमा धानको खेती गरिन्छ । संसारकै सबैभन्दा उचाइमा धान फलाउने देश भनेर नेपाल चिनिने गरेको छ । धान उत्पादनका लागि विशिष्ट किसिमको भौगोलिक विविधता भए पनि दक्षिण एशियाली मुलुकमै हाम्रो धानको उत्पादकत्व भने कम छ । चीनमा प्रतिहेक्टर ७ टन धान फल्ने गरे पनि हाम्रोमा चार टन पनि फल्न सकेको छैन । किसान समक्ष उन्नत बिउदेखि आधारभूत कृषि सामग्री पुर्‍याउन नसक्दा हाम्रो उत्पादकत्व बढ्न नसकेको हो । प्रतिहेक्टर ५ टन फलाउन सके मात्र पनि आयात कम गर्न सकिने कृषि अर्थशास्त्रीहरुको भनाइ छ ।  

नेपालका धान उत्पादन हुने क्षेत्रफलमध्ये करिब १० प्रतिशतमा रैथाने तथा स्थानीय जातका धानले ओगटेको छ । २५०० भन्दा बढी धानका रैथाने जात रहेकोका १५० भन्दा बढी जातको खेती हुँदै आएको छ । उन्नत बिउ र मल मात्रै होइन, नार्कले विकास गरेका बिउ अझै आधा किसानसम्म पनि पुग्न सकेको छैन ।

२०३० सालको दशकमा नेपालले वार्षिक २ करोडभन्दा धेरैको धान निर्यात गर्ने गरेकोमा अहिले त्यो इतिहास मात्र बनेको छ । नेपाल धान-चामल आयात गर्ने देशको सूचीमा छ । कृषि विभागका अनुसार पछिल्लो ११ महिनामा २१ अर्ब १३ करोडको धान चामल आयात भएको छ । त्यसमध्ये ८८ करोडको धानको बिउ मात्र आयात भएको छ ।  

नेपाल सरकारले आयात निरुत्साहित गर्न कृषि सुधार शुल्क जस्ता औजार लगाइरहेको छ । तर पनि आयात थामिएको छैन । गत वर्ष ३३ अर्बको आयात भएको थियो । धान चामलको बढ्दो आयात रोक्नका लागि उत्पादकत्व बढी भएको चैते धानको खेती प्रवर्द्धनदेखि धान पकेट क्षेत्र कार्यक्रम सञ्चाल गरिरहेको जनाएको छ । सरकारी अधिकारीहरुले आउँदा दिनमा नतिजा दिने दाबी गरेका छन् ।

नेपालमा खेती हुने कुल क्षेत्रफलको ४७ दशमलव ७ प्रतिशत जमिनमा धान खेती गरिन्छ । वार्षिक औषत ५५ लाख टन धान उत्पादन हुन्छ । तर करब १२ लाख टन धान अपुग हुने गरेको छन् । कृषिमा जलवायु परिवर्तनको प्रभाव र कृषि क्षेत्रमा युवा टिकाउन नसक्दा धानमाथिको हाम्रो परनिर्भरता कहिलेसम्म लम्बिने हो यकिन छैन ।

 

प्रकाशित:
2024/06/29, 8:45
SPA
KN
Priya Gahana Pasal