२ भन्दा बढी विषयमा एनजी ल्याउने विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने

सुदूर प्रेस संवाददाता

काठमाडौं –शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईभन्दा बढी विषयमा नन ग्रेड (एनजी) ल्याउने विद्यार्थीले पनि मौका परीक्षामा सहभागी गराउने निर्णय गरेको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले धेरै विद्यार्थी अध्ययनबाट वञ्चित हुने भन्दै मौका परीक्षामा सहभागी हुन दिने व्यवस्था गर्न बिहीबारदेखि छलफल अघि बढाएर शुक्रबार निर्णय गर्नुभएको हो ।

‘एनजी ल्याएका विद्यार्थीलाई मौका परीक्षामा सहभागी गराउने भन्ने मन्त्रीस्तरीय निर्णय भएको छ,’ मन्त्रालयका प्रवक्ता केशवप्रसाद दाहालले भन्नुभयो, ‘यसका लागि हामीले सम्बन्धित निकायहरूलाई आवश्यक निर्देशनसहित पत्राचार गरिसकेका छौं ।’ 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले हिजो (बिहीबार) सार्वजनिक गरेको नतिजाअनुसार दुई लाख ४२ हजार ३१३ विद्यार्थी नन ग्रेड (एनजी) मा परेका छन् ।

बोर्डले लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा सार्वजनिक गरेको हो । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक हुने व्यवस्था छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्छ । ७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक ल्याउनुपर्छ । त्यसमा आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्छ । लेटर ग्रेडिङ निर्देशिकाअनुसार सैद्धान्तिक र आन्तरिकतर्फ प्राप्त अंकलाई ग्रेडमा रुपान्तरण गरिन्छ ।

तर विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक पाएको छैन भने प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) उल्लेख हुनेछ । एनजी आएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।

प्रकाशित:
2024/07/04, 10:51
SPA
KN
Priya Gahana Pasal