रास्वपाले गर्‍यो महामन्त्री मुकुल ढकाललाई निलम्बन

सुदूर प्रेस संवाददाता

धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाललाई कारबाही गरेको छ । हिजो बसेको केन्द्रीय समिति बैठकले अभद्र व्यवहार गरेको भन्दै महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही अन्तर्गत केही दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको हो ।

ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । साथै सभापतिको प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्तासमेत तोकिएको छ । ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिनेसमेत जनाइएको छ ।

केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ । महामन्त्री ढकालले भने बैठकका छलफल पारदर्शी हुनुपर्ने बताउँदै प्रत्यक्ष प्रसारण गरिनुपर्ने माग उठाउनु भएको थियो । उहाँले विरोधस्वरूप हिजोको बैठकमा मुखमा कालो टेप टाँस्नु भएको थियो ।

उहाँले आफूलाई सत्यकुरा बोल्न नदिएको भन्दै पार्टीलाई रवि लामिछानेको मात्रै नबनाउन केन्द्रीय नेताहरुसँग आग्रह गर्नुभएको थियो । विवादकै कारण हिजो बसेको केन्द्रीय समिति केहीबेर स्थगित नै गर्नु परेको थियो ।

ढकालले बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गरे पनि १५/१६ जना सदस्यले गोपनीयता भन्दै अस्वीकार गरेको सभापति लामिछानेको सचिवालयले दाबी गरेको छ । ३८ जिल्ला पुगेर तयार प्रतिवेदनको सार्वजनिक साराशंमा महामन्त्री ढकालले पार्टी नसच्चिए सक्किने चेतावनी पनि दिनुभएको छ । बैठकमा ढकाललाई नै प्रतिवेदन पेस गर्न भनिए पनि नमानेका कारण सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढघण्टा लगाएर ३२ पेजको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित:
2024/07/04, 6:35