बेलायतको पुनर्निर्माण गर्ने नवनियुक्त प्रधानमन्त्री स्टार्मरको प्रतिबद्धता

सुदूर प्रेस संवाददाता

एजेन्सी–बेलायतका नवनियुक्त प्रधानमन्त्री लेबर पार्टीका किअर स्टार्मरले देशको पुनर्निर्माणका लागि तत्कालै काम शुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले देशको भाग्य पुनःस्थापित गर्नका लागि तत्काल काम कारबाही थाल्ने वाचा गर्नुभएको बीबीसीले जनाएको छ ।

बेलायतमा अस्ति भएको संसदीय चुनावमा अत्याधिक बहुमत पाएसँगै स्टार्मर हिजो नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । लेबर पार्टीले ऋषि सुनकको कन्जरभेटिभको १४ वर्षको शासन अन्त्य गर्दै जित हासिल गर्यो ।

सुनक लिज ट्रसको कार्यकालपछि सन् २०२२ को अक्टोबरमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । बेलायतमा घट्दो सार्वजनिक सेवा, उच्च मूल्य र दलहरुका वाचा पुरा नहुँदा निराशा बढ्दै गएको अवस्थामा स्टार्मर नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभएको र नागरिकका अपेक्षा पुरा गर्नुपर्ने जिम्मेवारी रहेको विश्लेषक बताएका छन् ।

प्रकाशित:
2024/07/06, 7:32