'नैरोबी फ्लाई' को जोखिम र उपचार

धनगढी– नैरोबी फ्लाई एक प्रकारको झिँगा हो जुन पूर्वी अफ्रिकाबाट फैलिएको हो । यो लगभग एक सेन्टिमिटर लामो हुन्छ । यो झिँगा हेर्दा कमिलाजस्तो लामो र सलक्क परेको देखिन्छ । यसको पछाडिको भाग चुच्चो र माथि उठेको हुन्छ । धेरैजसो नैरोबी फ्लाईको टाउको, बीच भाग र पुच्छर चम्किलो कालो हुन्छ भने अरू भाग रातो वा खैरो रङ्गको हुन्छ । यसको खुट्टा पनि कालो र रातो रङ्गको हुन्छ ।

नेपालमा नैरोबी फ्लाईको जोखिम बर्खायाममा बढी हुन्छ । यस समयमा गर्मी तथा चिस्यान बढी हुने भएकाले नैरोबी फ्लाई बढी सक्रिय रहन्छ र यसको वृद्धि विकासका लागि अनुकूल मानिन्छ । काठमाण्डौलगायत देशका विभिन्न ठाउँमा नैरोबी फ्लाईको जोखिम छ । तर विशेषगरी तराई क्षेत्र– चितवन, झापा, मोरङ, सुनसरीलगायतका ठाउँमा यसको जोखिम धेरै देखिएको छ ।

नैरोबी फ्लाईले टोक्ने गर्दैन । यसलाई छोएर, मिचेर वा मार्न खोज्दा यसले पेडेरिन नामक रसायन निकाल्छ । यो रसायन मानिसको छालामा पर्दा आगोले पोलेको जस्तो असर गर्छ । जसले गर्दा चहर्‍याउने, चिडचिडापन, रातोपन, घाउ र छालामा असहजताजस्ता समस्या हुन सक्छन् । तर नैरोबी फ्लाईको असरले स्वास्थ्यमा गम्भीर जटिलता भने उत्पन्न हुँदैन ।

यसले छालामा एलर्जी र पानीका फोका आउने समस्या उत्पन्न गर्छ । फोका निस्केको ठाउँमा बिस्तारै घाउ बन्छ र घाउको बीचबाट छाला निस्कन्छ । जसका कारण घाउ वरिपरिको छाला रातो हुन्छ । यदि नैरोबी फ्लाईको विष छालामा लामो समयसम्म रह्यो भने यसले सङ्क्रमण फैलिन सक्छ । तर आत्तिनु पर्दैन । सम्पर्कमा आएको भागसँग शरीरको अन्य भाग सम्पर्कमा आयो भने अन्य भागमा रसायनले असर गर्छ ।

शरीरको सम्पर्कमा आइहाले, किराले छोएको ठाउँलाई साबुनपानीले राम्ररी पखाल्नुपर्छ । घाउ भएको ठाउँमा छोएर अर्को ठाउँमा छुनु हुँदैन । सामान्य अवस्थामा यसको असर कम्तीमा पनि एक हप्तासम्म रहन सक्छ र यस बेलासम्म पोल्ने र दुख्ने समस्या रहन्छ ।

शुरुको अवस्थामा पोलेको ठाउँमा भ्यासलिन वा बरफ लगाएर दुखाइ कम गर्न सकिन्छ । बढी दुख्ने वा छाला बिग्रन थाल्नेजस्ता जटिलता आउन थाल्यो भने छालारोग विशेषज्ञ वा नजिकैको अस्पतालमा देखाउनुपर्छ । जटिलता भएको अवस्थामा दुईदेखि तीन हप्तामा घाउ निको भइसक्छ ।

नैरोबी फ्लाई रातमा बढी सक्रिय हुन्छ । यस समस्याबाट बच्नका लागि मुख्य उपाय भनेको नैरोबी फ्लाईको सम्पर्कमा नआउनु हो । रातको समयमा अनावश्यक बत्ती नबाल्ने, घरको झ्याल ढोकामा जाली हाल्ने र बेलुका भएपछि झ्याल ढोका बन्द गर्ने उपायहरू अपनाउनुपर्छ । घरबाहिर निस्कँदा शरीर ढाक्ने लुगा लगाउनुपर्छ ।

यदि कीरा शरीरमा आइहाल्यो भने नआत्तिने र त्यसलाई नमार्ने । यस्तो अवस्थामा किरालाई छुनु हुँदैन, बरु फुक्ने वा कुनै कपडा वा चिजले भगाउने उपाय अपनाउन सकिन्छ । रातिमा कीराबाट बच्न झुल प्रयोग गर्ने, सुत्नुभन्दा पहिले कोठा राम्रोसँग सफा गर्ने, किराको सम्भावित प्रजनन स्थलहरू जस्तै– घर नजिकको झाडी, फोहोर वा चिस्यानयुक्त ठाउँलाई सफा र सुक्खा राख्ने गर्नुपर्छ ।

धेरैले नैरोबी फ्लाईको सम्पर्कमा आइसकेपछि अनावश्यक क्रिम प्रयोग गर्ने गर्छन् तर डाक्टरको सल्लाहविना कुनै औषधि प्रयोग गर्नु हानिकारक हुन सक्छ ।

यसपालि नेपालमा नैरोबी फ्लाईको जोखिम बढ्न सक्ने सम्भावना छ । नेपालमा नैरोबी फ्लाईको जोखिम एक वर्षको अन्तरालमा देखिने गरेको छ । यसको विषले छालामा असहजता र पोल्ने समस्या उत्पन्न गर्छ तर यसको असर प्रायः सामान्य हुन्छ र केही दिनमा आफैँ निको हुन्छ । यसबाट बच्न सतर्कता अपनाउनु आवश्यक छ र कुनै पनि प्रकारको जटिलता देखिएमा डाक्टरको परामर्श लिनुपर्छ ।छालारोग विशेषज्ञ डाक्टर विकास पौडेल

प्रकाशित:
2024/07/20, 8:37