सुदूरपश्चिममा नयाँ सरकार कहीले ?

सुदूर प्रेस संवाददाता

धनगढी–  केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूमा अहिले अल्पमतको सरकार चलिरहेको छ । माओवादी र नेकपा एकीकृत समाजवादीले नेतृत्वको गरेको प्रदेश नयाँ सत्ता गठबन्धनका सारथिहरू बाहिरिएपछि अल्पमतका परेको हो ।

यी तीन प्रदेशहरू मध्ये लुम्बिनी र बागमतीमा आजै नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने छ भने सुदूरपश्चिम प्रदेशमा अझै केही दिन अल्पमतको सरकार चल्ने छ ।

लुम्बिनीमा सभामुख तुलाराम घर्तीले आज प्रदेशसभाको चौथो अधिवेशनको २४औं बैठक दिउँसो १ बजे बोलाएका छन् । मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिनेगरी निवेदन दर्ता गराएका छन् । सदस्यहरुलाई सूचना गर्दा पनि सम्भावित कार्यसूचीमा ‘विश्वासको मत लिने प्रयोजनका लागि’ भन्ने जनाइएको छ । 

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महरालाई समर्थन गरेको नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएको छ । त्यस्तै असार ९ गते जसपा सांसद अम्बिका काफ्लेले समर्थन फिर्ता लिएकी थिइन् । त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा छन् मुख्यमन्त्री महरा ।
आज विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिने तयारीमा रहेको पनि बुझिएको छ । राजीनामा दिए वा विश्वासको मत नपाए आजै नयाँ सरकार गठन प्रक्रिया अगाडी बढ्ने छ ।

लुम्बिनी प्रदेशमा एमालेका २९ सदस्य छन् । कांग्रेसका २७ जना छन् । दुई दलको मात्र जोड्दा ५६ पुग्छ । अल्पमतमा परेका मुख्यमन्त्री महराको समर्थनमा अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चाका एक्एक गरी १२ सदस्य मात्र छन् ।

एक स्वतन्त्रले अझै निर्णय लिएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन् । ठुला दलले सरकार बनाउने भएपछि प्रदेशका राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाललगायतका दलले पनि एमाले–कांग्रेसको सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

यता बागमती प्रदेशमा पनि अहिलेसम्म अल्पमतको सरकार चलिरहेको छ । माओवादीका नेता शालिकराम जमरकट्टेलको नेतृत्वको बागमती सरकारबाट एमालेका मन्त्रीहरूले राजीनामा दिइसकेका छन् ।

२४ गते एमालेका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाउँदै समर्थन फिर्ता लिएपछि सरकार अल्पमतका परेको हो । आज बागमतीमा पनि १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ । कांग्रेस र एमाले एक ठाउँमा उभिएपछि यहाँ पनि विश्वासको मत पाउने सम्भावना छैन र
११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ ।

यहाँ सबैभन्दा बढी कांग्रेसका ३७ जना सांसद छन् । एमालेका २७, माओवादीका २१, नेकपा एसका ७, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् । कांग्रेस र एमाले मिल्दा ६४ सांसद पुग्छ । यहाँ कांग्रेसलाई नेतृत्व दिने भद्र सहमति छ ।

आजैबाट बागमतीमा पनि नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने छ । अल्पमतमा परेका तीन प्रदेश मध्ये दुई प्रदेशमा आज विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ । तर, अल्पमतमै परेको सुदूरपश्चिम प्रदेशमा भने अझैसम्म मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने मिति समेत निर्धारण गरेका छैनन् ।

२० गते सुदूरपश्चिममा एमालेका तीन मन्त्रीले राजीनामा दिएर सरकारको समर्थन फिर्ता लिएका थिए । अहिले सरकार अल्पमतमा छ । प्रदेशको बजेट पारित नहुँदा सरकार बेखर्ची भएको छ । तर, न नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने देखिन्छ नत अहिलेको सरकारले नै बहुमत पुर्‍याउने सम्भावना छ । यस्तो अवस्थामा बजेट नहुँदा सरकारलाई थप संकट पैदा भएको छ ।

मुख्यमन्त्री सोडारीले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेका थिए । त्यसको लागि संसद् अन्त्य समेत गरिएको थियो । तर, संसद् अन्त्यको भोलि पल्टै एक तिहाइ सांसदहरूले लिखित रुपमा प्रदेश प्रमुख नजिर मियाँलाई अधिवेशन आह्वानको लागि पत्र बुझाएपछि ८ गते दिउसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको छ ।

प्रदेश प्रमुखले अधिवेशन आह्वान गरेपछि सरकाको अध्यादेश ल्याउने तयारीमा पनि ब्रेक लागेको छ । यसले प्रदेश थप अनिर्णयको बन्दी बनेको छ । यति हुँदा पनि मुख्यमन्त्रीले विश्वासको मत लिने मिति समेत तोकेका छैनन् ।

प्रकाशित:
2024/07/21, 8:53