लापरबाहीले ४१ वटा यातायात कार्यालयका सेवा दिनभर ठप्प, विभाग मूकदर्शक

जनतालाइ सधैं सास्ती
सुदूर प्रेस संवाददाता

धनगढी– सर्भर डाउन हुँदा कैलाली सहित देशभरका ४१ वटा यातायात कार्यालय आज (सोमबार) दिनभर ठप्प बने । विभिन्न काम लिएर यातायात कार्यालय पुगेका हजारौं सेवाग्राही निराश भएर फर्किए ।

यातायात कार्यालयमा सर्भर डाउन भएर सेवाग्राही फर्कनुपरेको यो पहिलोपटक भने होइन । दिनदिनैजसो यो समस्या दोहोरिने गरेको छ । तर विभागले सेवा चुस्त बनाउन कुनै चासो नै दिएको छैन । सर्भर डाउनका कारण काम गर्न नसक्ने भन्दै कर्मचारीले हात उठाइरहँदा र सेवाग्राहीले सास्ती भोगिरहनुपर्दा विभाग किन मूकदर्शक बनिरहेको छ त ? प्रश्न यही उठेको छ । 

खास समस्या के हो ?

यातायात व्यवस्था विभागले तीन वर्षअघि आईटीविज्ञ सबिन श्रेष्ठलाई वार्षिक पाँच लाख रुपैयाँ दिएर डेटा बेस, अनलाइन प्रणाली र नागरिकको गुनासो हेर्ने गरी करारमा नियुक्त गर्यो । तीन महिनाअघि उहाँको करार सम्झौता सकिएको छ । 

सम्झौता सकिएपछि पनि केही समय उहाँले विभागले भनेको काम कम गर्दै जानुभयो । अहिले उहाँ थाइल्यान्डमा हुनुहुन्छ । यता सबै सर्भर डाउन छ । विभागले अर्को विज्ञ व्यक्ति नियुक्त गर्न सकेको छैन ।

देशभरका ५५ लाख नागरिकको डेटा यातायात व्यवस्था कार्यालयमा छ । तर, विभागसँग न दक्ष जनशक्ति छ न नागरिकको डेटा सुरक्षित हुने विश्वासिलो आधार नै । यसले व्यक्तिगत सूचना चुहिने जोखिमसमेत उत्तिकै देखिएको छ ।

प्रकाशित:
2024/07/23, 7:13