एजेन्सी– बंगलादेशमा हिंसा चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिनुका साथै देश छाड्नु भएको छ । यससँगै बंगलादेशमा शेख हसिनाको १५ वर्ष लामो शासन अन्त्य भएको छ । हसिना नेतृत्वको अवामी लिग सन् २००९ देखि लगातार सत्तामा थियो । हसिनाको बहिर्गमनपछि हजारौँ मानिसहरू बंगलादेशका सडकमा ओर्लिएको र खुसीयाली मनाएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री हसिना सवार विमान भारत उत्तर प्रदेशको गाजियावाद सहरस्थित हिन्डन एयर बेसमा स्थानीय समय अनुसार पाँच बजेर ३६ मिनेटमा अवतरण गरेको भारतीय समाचार माध्यमले दाबी गरेका छन् । भारतबाट उहाँ लन्डनतर्फ जान सक्ने अनुमान गरिएको छ ।
हसिनाले सोमबार दिउँसो करिब साढे २ बजे सेनाको हेलिकोप्टरमा ढाकास्थित सरकारी आवास गोनो भवन छाड्नु भएको हो । देश छाड्नु अघि हसिनाले देशवासीका नाममा सन्देश रेकर्ड गर्न चाहेको तर त्यसको अवसर प्राप्त नगरेको दाबीसमेत स्थानीय समाचार माध्यमले जनाएका छन् । प्रदर्शनकारीहरूले शेख हसिनाको सरकारी आवासमा प्रवेश गरेर आक्रमण गर्नुका साथै लुटपाटसमेत गरेका छन् । उनीहरूले बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानको सालिकसमेत तोडफोडसमेत गरेका छन् ।
सरकार विरोधी आन्दोलनका क्रममा हिजो मात्रै कम्तीमा ९० जना मारिएका थिए भने आज पनि कम्तीमा ६ जना मारिएको जनाइएको छ । यसैबीच बंगलादेशका सेना प्रमुख जनरल वाकर उज जमानले सबै राजनीतिक दलको सहभागितामा अन्तरिम सरकार गठन गरिने बताउनु भएको छ । उहाँले सबै राजनीतिक दलसँगको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको र यस सम्बन्धमा राष्ट्रपति मोहम्मद शहाबुद्दिनसँग आफूले कुराकानी गर्ने बताउनु भएको स्थानीय समाचार माध्यमले जनाएका छन् ।
अन्तरिम सरकारले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूलाई न्याय दिने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भएको छ । बंगलादेशमा स्वतन्त्रता सेनानीका परिवारलाई दिइएको आरक्षणविरोधी प्रदर्शनमा हालै २ सयभन्दा बढीको मृत्यु भएको थियो । सर्वोच्च अदालतले आरक्षणलाई ३० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा सीमित गर्ने आदेश दिएपछि केही मत्थर भएकोमा हिजोदेखि आन्दोलन पुनः चर्किएको हो ।