सुदूरपश्चिममा २४ दिन देखिको बजेट शून्यताको अवस्था अन्त्य, कर संकलन सम्बन्धी अध्यादेश पारित

विश्वासको मत लिने र  यो महिना भित्रै नयाँ बजेट ल्याउने मुख्यमन्त्रीको तयारी
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले २४ दिन देखिको बजेट शून्यताको अवस्था अन्त्य गर्दै कर संकलन सम्बन्धी अध्यादेश आज पारित गरेको छ ।  मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले  अध्यादेश पारित गरेपछि कर संकलनको बाटो खुलेको हो । प्रदेश प्रमुख नजीर मियाले आजै उक्त अध्यादेश प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित गरिने छ ।  तत्कालीन मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नेतृत्वको सरकार अल्पमतमा परेपछि असार १ गते संसदमा प्रस्तुत भएको बजेट पास हुन नसकेपछि साउन १ गते देखि सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।  अध्यादेश प्रमाणीकरण पछि आजैबाट प्रदेश भरी रोकिएको कर संकलनको कार्य सुचारु हुने मुख्यमन्त्री कमल वहादुर शाहले बताउनुभयो । 

प्रदेश सरकारले ल्याएको अध्यादेशमा गत आर्थिक वर्षकै करका दरहरू राखिएका छन् । यसपालि प्रस्तुत भएको बजेटमा यातायात करमा केही संशोधन गरिएको भए पनि बजेट पास नभएकाले तत्कालका लागि अध्यादेशमा पुरानै करका दरहरू समावेश गरिएको छ । मुख्यमन्त्री शाहले प्रदेशसभा बैठक वोलायर विश्वासको मत लिने र  यो महिना भित्रै नयाँ बजेट ल्याउने बताउनुभयो । बजेट कुन प्रक्रियाबाट ल्याउने भन्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । विगतको सरकारले ल्याएका राम्रा योजना लाइ पनि आगामी बजेटमा समेटिने उहाँले बताउनुभयो । 

सोडारी नेतृत्वको सरकार वर्हिगमन भएपछि अहिले कांग्रेश नेतृत्वमा गठन भएको सरकारमा एमाले र नागरी उन्मुक्ति पार्टी सरकारमा सहभागी भएका छन् । 

प्रकाशित:
2024/08/08, 12:31