कांग्रेसका प्रदेश सभापतिहरुले भने- केन्द्रले हस्तक्षेप गर्‍यो

सुदूर प्रेस संवाददाता

काठमाडौं– नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले प्रदेशका पार्टी संरचनालाई केन्द्रले हस्तक्षेप गरेर निर्णय गर्न नसक्ने अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । प्रदेश सरकार गठनका बेला होस् वा पार्टीका आन्तरिक गतिविधिमा सधैं केन्दले हस्तक्षेप गर्ने गरेको उनीहरुको भनाइ छ । काठमाडौंमा जारी केन्द्रीय समितिको बैठकमा प्रदेश सभापतिहरुले केन्द्रले नै संघीयताको अभ्यास नगरेको आरोप लगाए ।

पार्टी मुख्यालय सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरुले प्रदेश सरकार गठन गर्दा होस् या मुख्यमन्त्री छनोट गर्दा केन्द्रले सधैं हस्तक्षेप गरेको आरोप लगाए । आफूहरुले स्वतन्त्र भएर निर्णय गर्न नपाएको र केन्द्रले समन्वयसम्म नगरेको उनीहरुको भनाइ थियो । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेतृत्वले जिल्ला र पालिकासम्मै हस्तक्षेप गरेको भन्दै आपत्ति जनाउनुभयो ।

प्रदेशहरुलाई स्वतन्त्र भएर निर्णय गर्न नदिादा कोशी र गण्डकी प्रदेश सरकारमा अझै विवाद छ । एमाले नेतृत्वको कोशी प्रदेशमा कांग्रेस सहभागी भएको छैन भने कांग्रेस नेतृत्वको गण्डकीमा एमाले गएको छैन । यी प्रदेशमा केन्द्रले हस्तक्षेप गर्दा समस्या भएको आरोप प्रदेश सभापतिहरुले लगाएका छन् । कांग्रेस र एमाले नेतृत्वको गठबन्धनलाई सफल बनाउन पनि प्रदेश कार्यसमितिलाई निर्णय गर्न दिने भूमिका दिनुपर्ने माग उनीहरुको छ ।

केन्द्रको निर्देशनात्मक शैलीले पार्टीका संघीय संरचनाको औचित्य घटाएको आरोप प्रदेश सभापतिहरुको छ । केन्द्रले पालिकासम्मै सिधै सम्पर्क गर्दा प्रदेशसंरचनाको औचित्य घटेको भन्दै उनीहरुले आफूहरुलाई अधिकारसम्पन्न गराउन माग गरेका छन् । तर केन्द्रीय नेताहरु भने प्रदेशसभापतिहरुले लगाएको आरोप स्वीकार गर्न तयार छैनन् । आवश्यक परेका बेला सुझाव मात्र दिने गरेको दाबी केन्द्रीय नेताहरुको छ ।

देश संघीय संरचनामा गएपछि कांग्रेसले पनि आफ्ना सबै संरचनाहरुलाई त्यहीअनुसार लगेको छ । तर सिफारिस गर्नेबाहेकको अधिकार प्रदेश संरचनाले पाएका छैनन् । कतिसम्म भने चुनावको टिकट वितरणमा पनि केन्द्र नै हाबी हुने गरेको छ । कांग्रेसका लागि अहिले प्रादेशिक पार्टी संरचनाहरु नेता व्यवस्थापन गर्ने थलो मात्र बनेको छ । चालु केन्द्रीय समितिको बैठकले यसबारे पनि स्पष्ट मार्गनिर्देश गर्न नेतृत्वलाई चर्को दबाब परेको छ ।

प्रकाशित:
2024/08/09, 7:23