रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र कब्जा गरेकाे युक्रेनकाे दाबी

सुदूर प्रेस संवाददाता

एजेन्सी– युक्रेनका मुख्य सैन्य कमान्डरले युक्रेनी सेनाले रुसको एक हजार वर्ग किलोमिटर क्षेत्र आफ्नो कब्जामा लिएको दाबी गरेका छन् । 

रुस र युक्रेन बीच विगत साढे दुई वर्ष देखि जारी युद्धमा युक्रेनले रुसी भूमीभित्र प्रवेश गरी यति ठुलो भूभाग आफ्नो कब्जामा लिएको यो पहिलो घटना हो ।

युक्रेनी कमान्डर ओलेक्स्यान्डर सिर्सकीका अनुसार युक्रेनले रुसको कर्स्क क्षेत्रमा आफ्नो एक साता लामो सैन्य गतिविधिलाई निरन्तरता दिइरहेको छ। राष्ट्रपति भोलोदिमिर जेलेन्स्किले रुसले यसअघि अरु माथि हमला गर्ने गरेकोमा अहिले रुस माथि नै हमला भएको बताउनु भएको छ । यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनले जारी गरेको हमलाले हालको परिस्थितिलाई झनै गाह्रो बनाउने भन्दै रुसी सेनालाई आफ्नो क्षेत्रबाट दुश्मनलाई परास्त गर्न आदेश दिनुभएको छ । 

युक्रेनी सेनाले आक्रमण शुरु गरेयता पश्चिमी रुसबाट हरेक दिन ठुलो संख्यामा स्थानीयहरुलाई अन्यत्र सारिदै आइएको छ । पछिल्लो पटक थप ५९ हजार वासिन्दालाई सुरक्षित स्थान तर्फ लग्न आग्रह गरिएको जनाइएको छ । 

स्थानीय गभर्नरका अनुसार हालसम्म २८ गाउँहरु युक्रेनी सेनाले आफ्नो नियन्त्रणमा लिइसकेको छ भने कम्तिमा १२ स्थानीयको मृत्यु भएको छ। युक्रेनले आफ्नो नियन्त्रणमा लिएको रुसी क्षेत्रमा अझै पनि दुई हजार रुसी नागरिक रहेको बुझिएको छ। युक्रेनी सेनाले गत मंगलवार एक्कासी रुसको पश्चिमी सीमाक्षेत्रभित्र प्रवेश गरी आक्रमण शुरु गरेको हो । पछिल्लो हमलाले युक्रेनको आत्मबल बढेको बुझिएको छ भने यो कार्यले युक्रेनका लागि थप सुरक्षा चुनौती समेत थपिएका छन्।

प्रकाशित:
२०८१ साउन २९, ०७:५२
SPA
KN
Priya Gahana Pasal