सुदूरपश्चिम प्रदेशमा माओवादी भित्र खैलाबैला

दलको नेताबाट हटाएपछि खगराज भट्ट रुष्ट
माओवादीका सांसद सहभागी नभएपछि खाली देखिएको प्रतिपक्षी बेन्च
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल वहादुर शाहले विश्वासको मत लिँदा  माओवादी प्रस्ट दुई धारमा विभाजित भएको छ । 

मुख्यमन्त्री शाहले विश्वासको मत माग्दै गर्दा ७ जना जना सांसद उपस्थित भएनन् । उपस्थित नभएका ७ मध्ये ६ माओवादी केन्द्रका हुन् । ६ माओवादी सांसद मध्ये ५ जना एउटै खेमाका हुन् । माओवादीका खगराज भट्ट, ओमविक्रम भाट, जानकी कुवर , झपट साउद, रमेश धामी र शिव ओली बैठकमा उपस्थित थिएनन् ।

माओवादी केन्द्रमा यसअघिबाटै संसदीय दलको नेताका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । बहुमत सांसदहरूले दलको नेताबाट हटाएपछि तत्कालीन दलका नेता खगराज भट्ट रुष्ट बनेका थिए । उनी निरन्तर संसद् बैठकमा अनुपस्थित हुँदै आएका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङ असार १२ गते पत्र नै लेखेर सुदूरपश्चिम प्रदेशमा स्थायी समिति सदस्य खगराज भट्टलाई दलको नेता बनाउन निर्देशन दिएका थिए । अध्यक्ष र महासचिवको सर्कुलरपछि पनि दलको नेता हेरफेर नभएपछि माओवादीका थप विवाद बढेको हो ।

दलको नेता परिवर्तनको गृहकार्य नहुँदै फेरि सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता मानबहादुर धामीले गीता माललाई प्रमुख सचेतक नियुक्त गरेपछि माओवादीमा थप विवाद चुलिएको हो ।

‘दलको नेता परिवर्तनको बहस भइरहेका बेला उहाँले फेरि एकलौटी प्रमुख सचेतक नियुक्त गर्नुभयो कुनै छलफल गर्नु भएन’ माओवादी एक सांसदले भने ।

सुदूरपश्चिममा माओवादीमा सभामुख बाहेक १० सांसद छन् । १० सांसद मध्ये धामीको पक्षमा ५सांसद छन् भने भट्टको पक्षमा ५ सांसद छन् ।

धामीसहित अक्कल रावल, ओम क्रिम भाट,गीता माल र लक्ष्मी विक एउटा समूह बन्दा भट्टसहित झपट साउद, रमेश धामी, शिव सिंह धामी र जानकी कुवर अर्को समूहमा विभाजित भएका छन् ।

अहिले माओवादी प्रमुख प्रतिपक्षी दल भएको छ । प्रमुख प्रतिपक्षी दलको नेता तथा प्रमुख सचेतकलाई पनि सवारी सुविधा रहेको छ ।

अहिले दुवै सुविधा एउटै समूहका नेताले लिन लागेको भन्दै पनि विरोध भइरहेको छ । यता मानबहादुर धामीले भने आफूलाई बहुमत सांसदहरूले दलको नेता बनाएको भन्दै बहुमतबाट मात्रै हट्ने तर, राजीनामा नदिने बताउँदै आइरहेका छन् ।

दुई समूहमा विभाजित भएको माओवादीमा थप शक्ति सङ्घर्ष उत्पन्न हुँदै गइरहेको छ।

माओवादीका उपनेता अक्कल रावलले माओवादी सांसदहरू बाहिर भएको हुँदा संसद्मा नआएको बताए । उनले ह्विप जारी नगरिएको हुँदा पनि आफ्ना सांसदहरू नआएको उनको तर्क थियो ।

 

प्रकाशित:
2024/08/15, 4:09
SPA
KN
Priya Gahana Pasal