धनगढी– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नुभएको छ । चौधरी बर्खास्त भएसँगै नागरिक उन्मुक्ति पार्टी आन्तरिक छलफलमा जुटेको छ ।
नाउपाले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने चेतावनी दिएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टीका संरक्षक रेशम चौधरीले सरकारबाट समर्थन फिर्ता लिने बताउनुभएको छ । सुदूरपश्चिममा मन्त्री चौधरीलाई राजीनामा गर्न दिइएको निर्देशन अवज्ञा गरेपछि मुख्यमन्त्री शाहले हिजो बर्खास्त गर्नुभएको हो ।
बजेट निर्माणका क्रममा मन्त्री चौधरीले वित्तीय अनुशासन कायम नगरेको, खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिमा कार्यकारी निर्देशक नियुक्त गर्दा कुनै जानकारी नगरेको लगायतका आरोपसहित राजीनामा मागिएको थियो ।
सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार छ । कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात जना सांसद छन् । नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिएपनि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुहुने छैन । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।