धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा पर्ने गोदावरी नदीको टापुमा फसेका ६ जनालाई संयुक्त सुरक्षा टोलीले सकुशल उद्दार गरेको छ। श्राद्ध गर्न टापुमा पुगेका उनीहरू मुसलधारे वर्षाका कारण नदीको सतह अचानक बढेपछि चारैतिरबाट बाढीले घेरेर फसेका थिए । उद्धारका लागि इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दको कमाण्डमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उक्त उद्धार कार्यमा प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणा, सशस्त्र प्रहरी ३४ गण धनगढीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रञ्जित, तथा राष्ट्रिय अनुसन्धान कार्यालय कैलालीका उप–अनुसन्धान निर्देशक महेश बहादुर बोहरा सहितको समन्वित टोली संलग्न रहेको थियो।
सुरक्षा निकायको सहकार्यमा उद्धार गरिएकामध्ये शुक्लाफाँटा नगरपालिका–६, कञ्चनपुरका ६५ वर्षीय पल्लु सार्की, सोही ठाउँकी ६५ वर्षीया भागेश्वभरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय बिकट सार्की र बिर सार्की, तथा बेदकोट नगरपालिका–७ निवासी २८ वर्षीय अब्दुल सार्की रहेका छन्।
उनीहरू सबैलाई सकुशल उद्दार गरी आवश्यक स्वास्थ्य परीक्षणपछी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
स्थानीय प्रशासनले बर्खायाममा नदी किनार तथा टापुमा जान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।