नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता लाई सदस्यसमेत नरहने गरी हटाइयो

कानुनी उपचार खोज्ने तयारीमा रञ्जिता पक्ष
सुदूर प्रेस संवाददाता

धनगढी — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ ।  

नाउपाको राष्ट्रिय भेलाले अध्यक्ष चौधरीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको हो । त्यसअघि मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो । सोही निर्णयमा टेकेर बुधबार काठमाडौंमा आयोजित भेलाले अध्यक्ष श्रेष्ठ चौधरीलाई हटाउने निर्णय गरेको संस्थापक केन्द्रीय सदस्य बलवीर चौधरीले बताए ।

पार्टी नेताहरुका अनुसार तीन सदस्यीय अनुशासन समितिमा रामलाल डगौरा थारु संयोजक, पुन्नबहादुर बुढा र सुनिता चौधरी सदस्य छन् । सुनिता चौधरी भने आर्थिक अनियमितताको अभियोगमा हाल कञ्चनपुरमा थुनामा छिन् ।

अध्यक्षसहित २१ जना केन्द्रीय सदस्य रहेको नाउपामा बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो । यस्तै भेलाका प्रतिनिधिहरुमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो । भेलाले अध्यक्ष श्रेष्ठ चौधरीमाथि पाँच वटा कारण देखाएर कारबाही गरेको सहभागी नेताहरुले बताएका छन् । बैठक नबोलाएको, स्पष्टीकरण नबुझाएको, कार्यवाहक तोकेको, पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरणमा मुछिएको र पार्टीको विधिविधान मिचेको आरोप लगाइएको छ ।

नाउपाको अन्तरिम विधान २०७८ को दफा १३ मा राष्ट्रिय भेला सम्बन्धी व्यवस्था छ । तर राष्ट्रिय भेलाका प्रतिनिधिबारे भने उल्लेख छैन । केन्द्रीय कमिटीले राष्ट्रिय भेला बोलाउन सक्ने व्यवस्था छ । १३ (क) मा केन्द्रीय कमिटीले आवश्यक ठानेमा राष्ट्रिय भेला आयोजना गर्ने छ भनिएको छ भने १३ (ख) मा राष्ट्रिय भेलाले विधान, केन्द्रीय कमिटी, सचिवालयका सदस्य र पदाधिकारीहरुको चयन एवं हेरफेर र महाधिवेशनप्रति उत्तरदायी रहने गरी विधान हेरफेर गर्न सक्ने छ भनिएको छ । 

श्रेष्ठले भने राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै भएको भन्दै यसले गरेको निर्णय मान्य नहुने बताएकी छन् । ‘राष्ट्रिय भेला अध्यक्षले बोलाउने विधानमा प्रावधान छ । त्यसकारण मैले नबोलाएको भेलाले गरेको निर्णय वैधानिक छैन,’ उनले कान्तिपुरसँग भनिन् । भेलाको निर्णयबारे कानुनी उपचार खोज्ने तयारी रञ्जिता पक्षले गरेको छ ।

अध्यक्षसहित २१ जना संस्थापक केन्द्रीय सदस्य रहेको नाउपामा बुधबार आयोजित राष्ट्रिय भेलामा १२ जनाको उपस्थिति थियो । यस्तै, राष्ट्रिय भेलाका प्रतिनिधिहरूमा संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बोलाइएको थियो । भेलामा सहभागी केही नेताहरूले भेला नै अवैधानिक भएको भन्दै बहिष्कार गरेका थिए । प्रतिनिधिसभामा नाउपाका चार जना सांसद रहेकोमा श्रेष्ठबाहेक तीन जना उपस्थित थिए । यस्तै, सुदूरपश्चिम प्रदेशसभा सदस्य रहेका नाउपाका सात जना सांसदमध्ये बुधबारको भेलामा पाँच जना सहभागी थिए ।

अध्यक्ष पक्षधर सांसद कैलाश चौधरी उपस्थित थिएनन् भने यसअघि अध्यक्षलाई स्पष्टीकरण सोध्ने बैठकमा उपस्थित रहेका सांसद लक्ष्मणकिशोर चौधरीसमेत बुधबारको भेलामा अनुपस्थित थिए । नाउपाबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारै जना सांसद भेलामा उपस्थित रहेको बताइएको छ । भजनी, टीकापुर नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका गरी कैलालीका चार स्थानीय तहमा नाउपाको नेतृत्व छ । चारवटै पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष (जनप्रतिनिधि) पनि राष्ट्रिय भेलामा सहभागी रहेको नाउपाका नेता ठाकुरसिंह थारूले बताए ।

प्रकाशित:
2025/07/31, 7:56